शिब भण्डारी
लण्डन । नेपाली युथ एशोसिएसन यूकेको आयोजनामा आइतबार साउथ ईस्ट लण्डनमा सम्पन्न ग्रीनवीच महोत्सवमा स्थानीय नेपालीहरु रमाएका छन् । फुटबल र भलिबल प्रतियोगितासहित लाइभ संगीत, सांस्कृतिक कार्यक्रम, नेपाली खानाका स्टलहरु, च्यारिटी स्टल, चंगा चैट, निशुल्क स्वास्थ्य चेकजाँच र बालबालिकाका लागि विभिन्न मनोरञ्जनात्मक खेलहरु समेत रहेको महोत्सवमा १५ सय जनाको उपस्थिति रह्यो । सुरुका वर्षहरुमा ग्रीनवीचकपका नाममा फुटबल र भलिबल प्रतियोगिता आयोजना गरिंदै आएपनि पछिल्ला वर्षहरुमा नेपाली खाना, लाइभ संगीतसहितका कार्यक्रमहरु थप गरिएको थियो ।
यस वर्ष अझै बृहत रुपमा नेपाली खेलकुद, खाना, कला, संस्कृति आदिलाई एकै ठाउंमा जोड्ने उद्धेश्यले ग्रीनवीच महोत्सवका रुपमा आयोजना गरिएको आयोजक एशोसिएसन अध्यक्ष लछुमन गुरुङले बताए । यसपटक ग्रीनवीच कपका लागि फुटबल तथा भलिबल दुवैतर्फ झण्डै १ दर्जन टोलीहरुले प्रतिस्पर्धा गरेका थिए । जसमध्ये फुटबलतर्फको उपाधि मंगोलियन भाञ्जा र भलिबलतर्फको उपाधि ग्रीनवीच भलिबल परिवारले जितेका छन् । रनर अप भने फुबटलमा तोङ्वा एफसी र भलिबलमा स्यांग्जा भलिबल टीम बनेका छन् । फुटबलको विजेताले नगद १२ सय पाउण्डसहित ट्रफी र भलिबलको विजेताले नगद १ हजार पाउण्डसहित ट्रफी प्राप्त गरेका छन् । ग्रीनवीच महोत्सवको प्रायोजक मध्येको एक एसएसएएफए नामक मिलिटरी च्यारिटीका डिभिजनल सेक्रेटरी जेरी आर्मस्ट्रोंग र आयोजक एशोसिएसन अध्यक्ष लछुमन गुरुङले विजेताहरुलाई ट्रफी वितरण गरेका थिए ।
यसअघि उक्त कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले फाइनल खेलको शुभारम्भ गरेका थिए । विशेष अतिथि ग्रीनवीच बरोकी मेयरले बिहान कार्यक्रम उद्घाटन गरेकी थिइन् । कार्यक्रममा विशेष अतिथिको रुपमा उपस्थित नेपाली राष्ट्रिय फुटबल टोलीका उपकप्तान विक्रम लामालाई आयोजकले विशेष सम्मान गरेका थिए । सांस्कृतिक कार्यक्रमअन्तर्गत स्थानीय नेपाली तथा गैरनेपाली समुदायका कलाकारले विभिन्न लाइभ संगीत प्रस्तुत गरेका थिए । 




प्रतिभा नक्षेत्र, मिसेस यूके नेपाल लगायतका समुहले देखाएका विभिन्न नृत्यहरुको साथै लाखे नाचको विशेष प्रस्तुति आकर्षक थियो । नर्सिंग एशोसिएसन यूकेको सहकार्यमा निशुल्क स्वास्थ्य चेकजाँच पनि गराइएको थियो । पासा पुचः साउथ ईस्ट लण्डनले लाइभ किचनमा पस्किएको नेवारी परिकारहरुको स्वाद लिन कार्यक्रमका सहभागीहरु झुम्मिएका देखिन्थे ।
ग्रीनवीच महोत्सवको मुख्य संयोजक आयोजक एशोसिसनका अध्यक्ष लछुमन गुरुङ थिए भने सहसंयोजकमा उपाध्यक्षद्धय राजन खकुराल र डा सुदर्शन गुरुङ थिए । फुटबल संयोजक समिर गुरुङ, भलिबल संयोजक निरञ्जन खड्का, मिडिया संयोजक मन्दिप केसी, स्वास्थ्य शिविर संयोजक गंगा साम्पांग तथा लाइभ प्रस्तुतिहरुको होस्टको भुमिकामा सुस्मिता थापा थिए । महोत्सवको मुख्य सहयोगी साउथ ईस्ट रिजनल तमु धिं लण्डन रहेको थियो।






