प्रधानमन्त्री ओली युरोप भ्रमण सकाएर स्वदेश फर्किँदै

प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आइतबार बिहान स्वदेश फर्कंदै छन् । जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका प्रधानमन्त्री ओलि आज स्वदेश फर्कने कार्यक्रम रहेको उनका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए ।

उनका अनुसार हिजो साँझ ५ बजे स्वीट्जरल्याण्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेशका लागि प्रस्थान गरेका प्रधानमन्त्री ओली आज बिहान १० बजेर २५ मिनेटमा काठमाडौँ आइपुग्ने छन् ।
प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई सम्बोधन गर्न गएका थिए ।

यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थियो । यस्तै फ्रान्सको पेरिसमा रहँदा त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार प्रधानमन्त्री ओलीले द्विपक्षीय भेटवार्ता गरेका थिए ।

प्रधानमन्त्रीको भ्रमण दलमा प्रधानमन्त्री ओलीकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा राजन भट्टराई, प्रतिनिधिसभाका उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ताहित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद विन्दा पाण्डेलगायत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *