तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएन) अस्ट्रेलियाको अध्यक्ष पदमा नन्द गुरुङले उम्मेदवारी दिने घोषणा गरेका छन् । अस्ट्रेलियामा रहेका नेपाली समुदायको सबैभन्दा ठूलो र विश्वासिलो संस्था एनआरएनलाई बनाउन महत्वपूर्ण योगदान दिएका गुरुङको उम्मेदवारीलाई स्वभाविक रुपमा लिइएको छ ।
१ लाख ५० हजार नेपालीको डायस्पोरा रहेका अस्ट्रेलियामा नयाँ कार्यकालका लागि तीन हजारभन्दा बढी नयाँ सदस्यता थपिएको बताइन्छ । पुराना र नयाँ सदस्यहरु समेत गुरुङको नेतृत्वलाई आत्मसात गर्ने बताइएको छ । अस्ट्रेलियामा रहेका नेपालीमाँझ गुरुङको सक्रियता नै जीतको आधार भएको अध्यक्षका प्रत्यासी गुरुङ बताउँछन् ।
एनआरएन अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यबाट उपाध्यक्ष पदमा रहेर कुशलतापूर्वक जिम्मेवारी पूरा गरेका गुरुङ डायस्पोरालाई राष्ट्रिय खेलकुदसँग जोड्ने सम्बन्ध सेतुको रुपमा परिचित छन् ।
हालै नेपालमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा एनआरएनले पनि सहभागिता जनाएको थियो । उक्त प्रतियोगितामा एनआरएनले सन्तोषजनक नतिजा निकालेको थियो, जहाँ अस्ट्रेलियाबाट राम्रो प्रतिनिधित्व थियो ।
अध्यक्ष पदका प्रत्यासी गुरुङको खेलकुदसँगको साइनो पुरानो हो । उनी ग्रान्डिभेल नेपाली समुदाय क्लबको सन् २०१२ देखि २०१४ सम्म अध्यक्ष, ग्रानभेल राइनोज फुटबल क्लब सहसंस्थापक र अस्ट्रेलिया नेपाली फुटबल एसोसिएसन सल्लाहकार हुन् । खेलकुदसँग उनको साइनो यति मात्र होइन उनले एनआरएनलाई फुटबल, भलिबल, क्रिकेट र बास्केटबलसँग पनि जोडेका छन् । नेपाली फुटबलका चर्चित स्टाइकर अनिल गुरुङ र नवयुग श्रेष्ठ तथा मिडफिल्डर भरत साहलाई अस्ट्रेलियामा ल्याएर सबै सामू परिचित गराए ।
सक्सेस मोरगेज एन्ड फाइनान्स ब्रोकरका प्रवन्ध निर्देशक गुरुङ कमन वेल्थ बैंकका ल्यान्डिङ म्यानेजर थिए । तमु समाजका पूर्वउपाध्यक्ष गुरुङले त्रिविविबाट स्नातकसम्मको अध्यक्ष सकेपछि क्विन्स ल्यान्ड युनिर्भसिटीबाट उच्च शिक्षा हासिल गरेका हुन् । तमु समाज सिड्नीका सल्लाहकार गुरुङ सन् १९९६ मा अस्ट्रेलिया आएका हुन् । सन् २०१५–०१७ बाट एनआरएन नेतृत्वमा रहेका गुरुङले त्यसपछिका सबै बैठकमा सहभागी थिए ।
समाजसेवामा उनको सक्रियता पनि सम्झना लायक छ । उनकै सक्रियतामा सम्पन्न भएको नेपाल फेस्टिबल आयोजना भएको थियो । उक्त फेस्टिबलमा अहिलेसम्मकै ठूलो उपस्थिति थियो, नेपाली खानाको बिक्री वितरण र प्रवद्र्धन धेरै राम्रै थियो । वातावरणमैत्री फेस्टिबलको अस्ट्रेलियाका राष्ट्रिय टेलिभिजन च्यानलले राम्रैसँग कभरेज गरेको थिए ।
गुरुङको सक्रियतामा नेपाली झन्डासहितको परेड देखाइएको थियो । उक्त परेडमा नेपाली पोशाकको प्रवद्र्धन गरिएको थियो । महिलाहरुको पर्व तीजमा गुरुङ र महिला फोरमको सक्रियतामा वर्क फर वेलफेयर कार्यक्रम आयोजना गरियो । उक्त कार्यक्रममा उनले निःशुल्क यातायात सेवा उपलब्ध गराएका थिए । उक्त सेवाबाट धेरैलाई फाइदा पुगेको थियो । उनले बुद्ध जयन्तीमा आयोजना भएको कार्यक्रममा पनि निःशुल्क यातायात सेवा उपलब्ध गराएका थिए ।
शिक्षा क्षेत्रमा उनले पु-याएको योगदानलाई महत्वपूर्ण मानिन्छ । उनको सक्रियतामा नेपालका सातवटै प्रदेशका ९ वटा स्कुललाई एक लाख रुपैयाँका दरले वितरण गरेको थिए । नेपाली दूतावाससहितको संयोजनमा सम्पन्न कोअरा फेस्टिबलमा ३ सय बढी नेपालीको संलग्नता भएका थिए । उनीहरुले नेपाली भाषाको प्रवद्र्धन गरेका थिए ।
उनले उपलब्ध गराएको सहयोग पनि स्मरणीय छ । उनले साइकलिस्ट कालिप्रसाद भण्डारीका लागि १३ सय डलर संकलन गरिएको थियो । महाबीर पुनको अनुसन्धान केन्द्रलाई १३ हजार डलर संकलन गरेर हस्तान्तरण गरिएको थियो । न्यू साउथ वेल्स राज्य र क्यान्भेरा आएका अभिभावकका लागि आयोजना गरिएको पिक्निकमा उपस्थिति बाक्लो थियो ।







