शिब भण्डारी ।
लण्डन । प्रधानमन्त्री केपी शर्मा ओलीले बेलायतमा बस्ने नेपालीहरुलाई आफ्नो कारोबार टुंग्याएर सकभर छिटो स्वदेश फर्कन आग्रह गरेका छन्।
बुधवार बिहान लन्डनस्थित नेपाली दूतावासद्वारा उनको सम्मानमा आयोजित एक समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले त्यस्तो आग्रह गरेका हुन्। उनले विदेशमा धन आर्जनका लागि पनि ज्ञान आर्जन गर्नुपर्ने बताउंदै नेपालीहरु जहाँ भए पनि देशको माया गर्ने गरेको आफुले पाएको बताए। उनले भने, “नेपाली हरु जहाँ पुगे पनि त्यहाको हावापानी, रीति रिवाज को सम्मान गरेर बस्छन। घच्चा दिएर बस्दैनन्।“ उनले गोर्खा सैनिक तथा गैर सैनिक नेपालीहरुले पनि नेपालको प्रभाव, प्रतिष्ठा र परिचयलाई उज्यालो बनाएको भन्दै त्यसको प्रशंसा गरे।
ब्रिटिश विदेश राज्य मंत्री मार्क फिल्डले नेपाल तथा बेलायतबीचको ऐतिहासिक सम्बन्धको चर्चा गर्दै गोर्खा सैनिकहरुको योगदानको प्रशंसा गरे। बेलायतका लागि नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदीले नेपालको प्रजातान्त्रिक आन्दोलनमा प्रधानमंत्री ओलीको योगदानको चर्चा गरेका थिए।
सोमबार बेलुका जेनेभाबाट लन्डन आईपुगेका प्रधानमंत्री ओली बुधबार भूमिगत रेल चढेर श्रीमती राधिका शाक्य, परराष्ट्र मंत्री प्रदीप ज्ञवाली, परराष्ट्र सचिव शंकर बैरागी तथा सल्लाहकारहरुको टोलि सहित पेरिस प्रस्थान गरेका छन्।





































