हुनेभो विद्यार्थीलाई रोजगारी, २० जनालाई निःशुल्क साइकल

तक्दिर अधिकारी
सिड्नी । बाबा एजुकेशन कन्सलटेन्सी र आरकेएस अस्ट्रेलियाले नेपाली विद्यार्थीलाई निःशुल्क साइकल वितरण गर्ने भएको छ । विद्यार्थीको समस्यालाई मध्यनजर गर्दै साइकल वितरण गर्न लागिएको कन्सलटेन्सीले जनाएको छ । कार्यक्रम आयोजक अबर्न स्ट्रिट ग्याङका अध्यक्ष रोशन खतिवडाका अनुसार बाबा एजुकेशन कन्सलटेन्सी र आरकेएस अस्टे«लियाले २० वटा साइकल निःशुल्क वितरण गर्न लागेको हो । २० वटा साइकलमध्ये १० वटा छात्रा र १० वटा छात्रलाई वितरण गरिनेछ ।

नेपाली विद्यार्थीको दयनीय अवस्था देखिएको र पीडा भोगिरहेका विद्यार्थीलाई केही हदसम्म भए पनि सहयोग पुग्ने बुझाइ आयोजकको छ । साइकलबाटै उबर इट्स गरेर विद्यार्थीले आफ्नो जिविपार्जन गर्नसक्ने छन् । जसले गर्दा अन्य विद्यार्थीलाई पनि प्रेरणा पुग्ने बताइएको छ ।

कार्यक्रममा सहभागिताका लागि केही हप्ता अगाडी निवेदन आह्वान गरिएको थियो । झन्डै १०० जना बिद्यार्थीको निवेदन दिएका थिए । ती मध्यबाट छनौट गरी अति आवश्यकता भएका विद्यार्थीलाई प्राथमिकता राखेर शीर्ष २० जनाको नाम निकालिने अध्यक्ष खतिवडाले जानकारी दिए । उनीहरुको पुलिस चेक गरी उबर इट्समा रजिष्टर गरिने छ । यद्दपि साइकल २० जनालाई मात्र दिन सम्भव भए पनि अन्य कामविहीन विद्यार्थी उपस्थित भएर उबर इट्समा रजिष्टर गर्न खतिवडाले आग्रह गरेका छन् ।

विद्यार्थीलाई साईकल चलाउनका लागि आवश्यकता पर्ने ट्राफिक नियम पनि कार्यक्रममा सिकाइने छ । कार्यक्रममा केही सांगीतिक प्रस्तुति पनि रहने छन् । सिड्नीको रकडेलमा रहेको इन्द्रेणी फङ्सन सेन्टरमा २६ जून बुधबारका दिन कार्यक्रम आयोजना हुनेछ ।

सिड्नीमा आयोजना हुने मनोरञ्जनात्मक वा च्यारिटी कार्यक्रम होस् अथवा समुदायका लागि या विद्यार्थीको सहयोगका लागि अधिकांश कार्यक्रमको मुख्य प्रायोजक बाबा एजुकेशन कन्सल्टयान्सी र आरकेएस अस्ट्रेलिया रहने गरेको छ । बाबा एजुकेसन कन्सल्ट्यान्सी र आरकेएस अस्ट्रेलियाका सञ्चालक रविन्द्रकुमार शर्माका अनुसार संस्थाले आग्रपंक्तिमा रहेर हरेक नेपालीको दुखसुखमा साथ र सहयोग गर्ने गरेको छ । विद्यार्थीलाई सेवा दिएर कमाएको पैसा विद्यार्थीकै लागि खर्च गर्न पाउनु आफ्ना लागि अवसर भएको शर्माले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *