लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेको युवा संयोजक पदमा अमृता गिरी गजुरेल उम्मेदवारी घोषणा गरेकी छन्। अमृताले बिहीबार पत्रचार गर्दै उम्मेदवारी घोषणा गरेकी हुन् । एनआरएनए युकेको अधिवेशन सेप्टेम्बरमा हुँदैछ ।

सिन्धुपालचोक कदमबासमा जन्मेकी अमृताको बाल्यकाल जन्मस्थलमै बिते पनि उच्च शिक्षा अध्यायनका लागि उनी काठमाडौं आइन् । सामाजिक कामप्रति लगाव भएकी अमृता मिसेस युके २०१७ को सेकेन्ड रनरअप पनि हुन् । सन् २००६ मा युकेमा पाइला राखेकी अमृताको सामाजिक कार्यप्रतिको रुचि चाख लाग्दो छ, जुन धेरैका लागि पे्ररणा हुनसक्छन् । सन् १९९९ मा अमृताले दुर्घटनमा आफ्नो एउटा हात गुमाइन ।

सोच्दै नसोचेको मोडमा पुयाइदियो समयले अमृताको जीवनलाई । सपना यथास्थितिमै रहे त्यसबेला । एउटा हात नभए पनि सपना साकार बनाउने निर्णय अमृताको जीवनमा सबैभन्दा ठूलो चुनौति थियो । त्यस्तो अवस्थामा पनि आफ्ना रुचि र समाज सेवाप्रति अमृतको समर्पणले आज पूरै मुलुकका निमित्त प्रेरणादायी बन्न पुगेको छ । दुई सन्तानकी आमा अमृता समाज परिवर्तनको अभियानमा उनको मेहनत साँच्चै लोभलाग्दो छ ।

अमृताले अपाङगतालाई कहिले असक्षमताको दृष्टिकोणले हेरिनन् । पारिवारिक साथ, सहयोग, हौसला एवम् समाजलाई आफूले केही गर्छु भन्ने भावनाको प्रभाव उनमा झन बढ्दै गयो । उनी एक हात बिना गाडी कुदाउँछिन । पारिवारिक जिम्मेवारीले पनि उनलाई बाँधेको छ । त्यही पनि उनी रंगमञ्चमा विविध सांस्कृतिक नृत्य, गायन प्रस्तुतिका माध्यमबाट जता सहयोगी हातको आवश्यकता छ, त्यहाँ उनको उपस्थिति हुन्छ ।

लन्डनमा आफ्नो अध्यापनको समयमा पनि विविध च्यारेटी सो, युवा वर्गमा उत्प्रेरणा जगाउने कार्यक्रम र सामाजिक सेवाप्रतिको अभ्यास उनले धेरै गरिन् । सामाजिक कार्यअन्तर्गत नै बालबालिका, युवा र जेष्ठ नागरिकमा मनोसामाजिक परामर्श दिने कार्य बिगत चार वर्षदेखि अमृताले गर्दै आइरहेकी छन् । युवालाई उत्प्रेरित गराई उनीहरुभित्र रहेको रचनात्मक सोच समाज विकासमा लगाउन सकिन्छ भन्ने कुरामा उनी विश्वस्त छन् । अमृता भन्छिन– ‘जिन्दगीमा उतारचढाव आइरहन्छ, त्यसका बावजुद पनि आफ्नो रुचिलाई दृढ विश्वासका साथ अगाडि बढाउनु सफलता हो ।’ शारीरिक असक्षमताले सामाजिक क्रियाकलापप्रति अझ धेरै गम्भीर भएको उनी बताउँछिन ।

बिदेशी भूमिमा रहेका नेपालीलाई एकीकृत गरी आफ्नो जन्मभूमिका निमित्त विभिन्न सामाजिक कार्यमार्फत् प्रत्यक्ष–अप्रत्यक्ष सेवा गरिरहेको अमृता बताउँछिन । बेलायतमा रहेका नेपाली मनमाँझ विभिन्न ‘च्यारेटी सो’ गर्दै नेपालमा जता अभाव छ, त्यता खोजी–खोजी सेवा गरिरहेका छौं, अमृताले भनिन् । सन् २०१७ मिसेस नेपाल युके टिममार्फत् बेलायतमा गरिएको ‘च्यारेटी शो’ बाट संकलित रकम अमृताले भक्तपुर, मध्यपुर ठिमीमा रहेको अभिभावक स्वावलम्बन समुहलाई हस्तान्तरण गरिन् । समूहले मष्तिष्क पक्षाघात भएका बालबालिकासँग सहकार्य गर्दै आइरहेको छ । उक्त संस्थालाई अमृताले दश लाख रुपैयाँ भवन निर्माणमा सहयोग पु¥याएको थियो । ‘युकेमा युवा संयोजकको प्रतिनिधित्व गर्दै धेरै अनुभव बटुलेको छु’ अमृता भन्छिन्, ‘त्यही अनुभवले नेतृत्व गर्न सक्ने वातावरण सिर्जना गरेको हो । युकेमा युवा संयोजक भएर काम गर्दा थुप्रै युवा जनशक्ति अत्यन्तै मजबुत रहेको पाइएको छ ।

जति धेरै युवा त्यति नै धेरै विचार, अनेकन विचारबाट एउटा गन्तब्य पुग्न सकिन्छ, अमृता भन्छिन्, ‘युवा माँझ हातेमालो गर्दै एकताका साथ अघि बढ्ने हो भने जस्तोसुकै चुनौतिको सामाना गर्न सकिन्छ । युवावर्गलाई लक्षित कार्यक्रम गरी उनीहरुलाई उत्प्रेरित गर्न सकिएमा मात्रै नयाँ आविष्कार एवम् परिवर्तन सम्भव छ, अमृता भन्छिन्, मैले एउटा हातले जीवनमा धेरै कठोर परिश्रम गरे, सफलता नजिकिदै आए । त्यसरी नै युवावर्गलाई अहिले एउटा सच्चा, निडर र मार्गदर्शनको खाँचो छ, जसमा म सहकार्य गर्न सदा तयार छु ।
अमृता भविष्यमा आफू जस्ता अपांगहरुको हितका लागि केही गर्ने सोचमा छिन् । अपांगता रहरले हुने होइन,‘परिस्थितिले त्यस्तो भएपछि समाज र परिवारले सम्मान दिए हरेक क्षेत्रमा सशक्त रुपमा अगाडि बढ्न सकिन्छ,उनले भनेकी छन् ।
आगामी दिनमा युवावर्गलाई कसरी अगाडी लैजाने भन्नेबारे हाम्रो भावी योजनाको खाकासमेत हामीले परिकल्पना गरिसकेका छौं, अमृताले भनिन् ‘सम्पर्ण मेरा इष्टमित्र, शुभचिन्तकबाट भोटको आशा राखेको छु । हामी सबैको सहकार्यबाट एउटा मजबुत युवा नेतृत्वको अभाव पूरा होस् ।’ साथै उनले आफ्नो उम्मेदवारीलाई एउटी नेपाली नारीले संस्थाको नेतृत्वका लागि देखाएको सकारात्मक पहलका रुपमा हेरिदिन समेत अनुरोध गरेकी छन् ।






