लण्डन । मगर संघ यूकेले ओपन कन्सर्टको भब्य तयारी गरको छ । संघको आयोजनामा जुन महिनाको पहिलो साता बेलायतमा हुने नेपाली ओपन कन्सर्टमा नेपालका चर्चित कलाकारहरुले प्रस्तुति गर्ने भएका छन् । जुन १ तारिख शनिबार फार्नबरो फुटबल क्लब, फार्नबरोमा सञ्चालन हुने कार्यक्रममा विशेष आकर्षणका रुपमा नेपाली संगीतका वरिष्ठ गायक प्रेमध्वज प्रधान पनि आउने भएका छन् । प्रधानका अलावा लोकदोहोरी गायक कुलेन्द्र विक, गायिका शान्तीश्री परियार, नेपाल आइडलका लोकप्रिय गायिकाद्धय सन्ध्या बुढा ‘काउली बुढी?’ र निलिमा थापा, नायक धिरज मगर , लोकदोहोरी गायिका निरु श्रीष, गायक हेमन्त आले, बुगीबुगीकी फाइनालिस्ट प्रगति पुन, मगर गट ट्यालेन्ट विजेता सलिना थापा लगायतले प्रस्तुति गर्ने कार्यक्रम छ ।
कलाकारहरुमध्ये अधिकांशले बेलायतको भिसा समेत पाइसकेको बताइएको छ । मध्यान्ह १२ बजेदेखि साँझ ८ बजेसमम चल्ने कार्यक्रम ५ हजार दर्शकले हेर्ने अपेक्षा आयोजकले गरेका छन् । कार्यक्रमस्थलमा नेपाली खाना, व्यवसाय, निशुल्क हेल्थ चेकअप लगायतका करिब ४० वटा स्टल रहनेछन् । किर्तिमानी आरोही निर्मल पूर्जाको मिसन पोसिबलको लागि सहयोग जुटाउन संघको युथ टिमले एक छुट्टै स्टल राख्दैछ । कार्यक्रम हेर्न दर्शकको लागि प्रवेश शुल्क १५ पाउण्ड छ । बालबालिकाको लागि १२ पाउण्ड मात्र लाग्नेछ । २० देखि २२ हजारसम्म कार्यक्रमको अनुमानित खर्च छ । कार्यक्रमबाट संकलित कोष संघले च्यारिटीमुलक काममा लगाउने योजना बनाएको छ । 
कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी तथा स्थानीय रश्मोर बरोकी मेयर लगायतका विशेष अतिथिहरु सहभागिता रहनेछन् । सन् २००२ मा स्थापित मगर संघ यूकेले सन् २००७ देखि हरेक वर्ष बेलायतमा ओपन कन्सर्ट आयोजना गर्दै आएको छ । पत्रकार सम्मेलनमा कार्यक्रमकी प्रमुख संयोजक तथा संघकी वरिष्ठ उपाध्यक्ष सिता पुर्जा पुनले कार्यक्रमको तयारीबारे जानकारी गराएकी थिइन् ।
संघका अध्यक्ष सुनिल रानाले कार्यक्रममार्फत बेलायतभर छरिएर रहेका सम्पुर्ण नेपालीहरुलाई एकै ठाउँमा जम्मा गराएर उनीहरुबीचको सद्भावलाई बढाउने लक्ष्य राखिएको बताए । ओपन कन्सर्ट बेलायतबासी सम्पुर्ण नेपालीहरुको लागि आयोजना गरिएको भन्दै आयोजकले सबैको सहभागिताको लागि अनुरोध गरेका छन् । कार्यक्रममा गैरमगर समुदायका कलाकारहरुले समेत प्रस्तुति गर्ने जनाउँदै उनीहरुले कार्यक्रम सम्पुर्ण नेपालीको लागि हो भन्ने सन्देश दिन खोजिएको बताएका छन् ।
त्यसअवसरमा संघका संरक्षक घन थापा , पूर्व अध्यक्ष दूत पुन, सल्लाहकारहरु रि ले कर्णेल यम राना, ओमप्रसाद थापा लगायतले कार्यक्रमका विविध पक्षहरुबरे प्रकाश पारेका थिए । संघकी सांस्कृतिक सेक्रेटरी तेन्यांग राना सरुले कार्यक्रममा प्रस्तुति गर्ने कलाकारहरुबारे जानकारी गराएकी थिइन् ।
संघका महासचिव रुद्र थापाले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा एनआरएन यूके उपाध्यक्ष प्रेम गाह मगर समेतको उपस्थिति रहेको थियो ।






