भारत–पाकिस्तानबीच हुने युद्धले समाधान गर्छ त ‘कश्मिर समस्या’ ?

Indian army soldiers take positions during their patrol near the Line of Control in Nowshera sector, about 90 kilometers from Jammu, India, Sunday, Oct. 2, 2016. India said Thursday it carried out "surgical strikes" against militants across the highly militarized frontier that divides the Kashmir region between India and Pakistan, in an exchange that escalated tensions between the nuclear-armed neighbors. (AP Photo/Channi Anand)

एजेन्सी- फेब्रुअरी १४ मा भारत प्रशासित कश्मिरको पुलवा जिल्लामा अर्ध–सैनिक प्रहरी बल (सीआरपीएफ)को गाडीमा आत्मघाती आक्रमण भयो । आक्रमणमा ४० सीआरपीएफ जवानहरुको मृत्यु भयो ।
पाकिस्तानमा आधार रहेको जैश–ए–मोहम्मदले आक्रमणको जिम्मेवारी लियो । घटनालाई जुन तरिकाले भारतीय मिडिया र सामाजिक सञ्जालमा देखाइयो, त्यसबाट देशभरी आक्रोश र शोकको वातावरण बन्यो ।

राजधानीमा ल्याइएका जवानहरुको शवलाई भारतका प्रधानमन्त्री मोदीले श्रद्धाञ्जली दिएको दृश्य टीभीमा देखाइयो । यसले भारतीयहरुमा थप आक्रोश बढायो । यो आक्रोशले सरकारमाथि केही न केही गर्ने दबाब बढायो ।

भारतमा अहिले ‘रगतको बदला रगत’ र ‘मुखभरीको जवाफ’ उग्र रुपमा उठिरहेको छ ।

एक टीभी च्यानलले ४० जवानहरुको ज्यानको बदला ४००० पाकिस्तानीहरु अर्थात एक भारतीयको बदला १०० पाकिस्तानीहरुको ज्यान लिनुपर्ने माग गरिरहेको थियो ।

तर, यो सबबीच एउटा प्रश्न अत्यन्त महत्वपूर्ण बन्दै गएको छ । के भारत र पाकिस्तानबीच युद्ध जरुरी छ ? र, यदी युद्ध भएमा त्यसले पाकिस्तानभित्र रहेर उसको समर्थनमा भारतमा हुने उग्रवादी आक्रमणको समस्या समाधान हुन्छ ?
माहोल हेर्दा भारतद्वारा कुनै न कुनै प्रकारको सैन्य जवाफको सम्भावना निक्कै बढी छ । यसैबीचमा भारतीय वायु सेनाले पाकिस्तानको सीमाभित्र पसेर कारवाही गरेको समाचार पनि बाहिर आएको छ । पाकिस्तानमा रहेको ‘आतंकवादी ठेगाना’ लाई ध्वस्त पारेको उसको दाबी छ । आजकल हरक्षण टीभी च्यानलहरु त्यसैमा केन्द्रीत देखिन्छन् ।

आक्रमण भएमा पाकिस्तान पनि चुप बस्नेछैन

तर, के त्यसले पुलवामा आक्रमणपछि बनेको उत्तेजक वातावरणमा केही बदलाव हुनेछ ?

अर्को महत्वपूर्ण कुरा भारतद्वारा गरिने कुनै पनि सैन्य कारबाहीको जवाफमा पाकिस्तानले पनि प्रतिक्रिया गर्नेछ र त्यसले तनाव झन् बढाउनेछ ।

ध्यान दिनुपर्ने कुरा दुई देश परमाणु शक्ति सम्पन्न राष्ट्र हुन् । यसले गर्दा युद्ध सुरु भइहालेमा विश्व–समुदायलाई तत्काल हस्तक्षप गनुपर्ने अथवा कुनै खालको मध्यस्थता गर्नुपर्नेछ ।

तर, सैन्य कारबाहीले मुख्य समस्याको समाधान गर्दैन ।
गुप्तचर सूचनामात्रै होइन, बाह्य कयैन संकेतले जैश–ए–मोहम्मद र उजस्ता समूहलाई पाकिस्तानबाट संरक्षण प्राप्त छ भन्ने जग–जाहेर छ । यी संगठनहरु आजको दिनमा भारतीय कश्मिरका आक्रोशित युवाहरुलाई उनीहरुको उद्देश्यको लागि प्रयोग गर्न सफल भइरहेका छन् ।

इतिहास हेर्ने हो भने भारत सन् १९९० देखि पाकिस्तानको तर्फबाट छद्म युद्धको सामना गरिरहेको छ । उसले यो छद्म युद्ध उग्रवादीहरुमार्फत सञ्चालन गरिरहेको छ ।

पछिल्लो २५ वर्षमा भारतमा भएका उग्रवादी आक्रमणमा नजर लगाउँदा नै यो कुरा प्रष्ट हुन्छ । यसमा उलेख्नीय सन् २००१ डिसेम्बरमा भारतको संसदमा भएको आक्रमण सामेल छ । त्यो बाजपेयी सरकारको पालामा भएको थियो । यसपछि सन् २००८ नोभेम्बरमा मनमोहन सिंहको सरकारको पालामा मुम्बईमा उग्रवादी हमला भयो र अहिले आएर सन् २०१९ फेब्रुअरीमा पुलवामा आक्रमण भयो ।

कश्मिरीहरुको असन्तोषलाई उपयोग

लश्कर–ए–तोयबा र जैश–ए–मोहम्मदजस्ता उग्रवादी संगठनहरुलाई पाकिस्तानी गुप्तचर विभाग अर्थात आईएसआईले पोषित गर्ने गुप्चतर सुचना छन् ।

जैशले सबैभन्दा पहिले सन् २००० अप्रिलमा जम्मू र कश्मिरमा हमला गरेको थियो । त्यही समय श्रीनगरको भारतीय सेनाका १५ कोप्र्स मुख्यालयलाई निशाना बनाइएको थियो ।

निश्चित रुपमा पुलवामा आक्रमण एक भयावह र हिंस्रक कार्य हो । तर यो यस्तो खालको पहिलो उग्रवादी हमला होइन र वर्तमान स्थितिलाई हेर्दा यो अन्तिम पनि हुनेछैन ।

यसमा सबैभन्दा जिम्मेवार छ, जम्मू र कश्मिरको आन्तरिक समाजिक–राजनीतिक स्थिति । कश्मिरी युवाहरुको असन्तोष र आक्रोशका खबरहरु अपरिचत होइन । केही विखण्डनकारी काश्मिरी नेताहरुले सीमा पारीबाट आउने सहयोगलाई यो असन्तोषलाई उचाल्न प्रयोग गर्छन् ।

बुरहान वानीको घटनापछि कश्मिर उपत्यकाको अवस्था खराब भयो । अवस्था बिग्रेको कुरा त्यहाँ तैनाथ सुरक्षाबलमाथि ढुंगा हान्ने घटनामा वृद्धि भएको र सुरक्षा बलमा संलग्न कश्मिरीहरु छुट्टीमा आउँदा मारिएको अवस्थाबाट देखिन्छ ।

युद्ध भएमा नतिजा के हुनेछ ?

मोदी सरकारको लागि दुःखको कुरा भाजपा र महबूबा मुफ्तीको पीडीपी पार्टीबीच कायम गठबन्धनले पनि जम्मू कश्मीरको अवस्था अपेक्षाकृत परिणाम ल्याएन ।

हाल जम्मू–कश्मिरमा ‘गर्भनर शासन’ छ । राज्यका दुई प्रादेशिक पार्टीहरु पीडीपी र फारुक अब्दूल्लाको नेशनल कन्फ्रेन्स राजनीतिक समाधान खोज्नमा असक्षम ठहरिएका छन् । उनीहरु राज्यमा कायम असन्तोषलाई स्वीकार गर्छन् ।

भारत–पाकिस्तानबीच युद्ध भएमा जम्मू कश्मीरको अवस्था झन् खराब हुनेंछ । कुनै पनि खालको सैन्य कारबाहीले धनजनको क्षति मात्र हुनेछ । ठूलो संख्यामा सैनिक र आम सर्वसाधरणको ज्यान जानेछ ।

युद्ध सुरु भएमा पाकिस्तानले तीव्र रुपमा शत्रुतालाई बृद्धि गरिदिनेछ । यसपछि आर्थिक हमला हुने आशंका पनि नकार्न सकिदैंन ।

पाकिस्तानको सीमा नजिक गुजरातमा रहेको भारतको प्रमुख भारतीय पेट्रोलियम संयन्त्रको अवस्थिति हेर्दा यो संयन्त्रमा स्थायी नुकसान हुने सम्भावनालाई अस्वीकार गर्न सकिँदैन ।

छोटोमा भन्दा युद्ध सुरु भएमा सो रक्तपातपूर्ण, महङ्गो र कहिले पूर्ति गर्न नसकिने मानव÷आर्थिक क्षतियुद्ध हुनेछ ।

र यदी पाकिस्तानसँगको युद्धमा यदी भारत विजयी भइहाल्यो भने पनि कश्मिर समस्या समाधान हुने छैन । बरु युद्धले पाकिस्तानको सेनाको स्थिति र भारत–विरोधी गुटलाई एक्कै ठाउँमा ल्याउनेछ ।

भारतसँग युद्धबाहेक के छन् पाकिस्तानविरुद्ध प्रयोग हुने विकल्प

तर यसको मतलब भारतसँग उग्रवादी हमला सहनु बाहेक अरु विकल्प नै छैन भन्न खोजिएको होइन ।

राजनीतिक हिसाबमा भारतसँग केही विकल्प र केही अनुकूल आर्थिक–वित्तिय परिस्थितिहरु छन् जसलाई अन्तर्राष्ट्रिय समुदायले स्वीकार गर्नेछ ।

हालै आतंकवादीहरुको आर्थिक सामर्थको समीक्षा गर्ने एफएटीएफ (फाइनेन्शियल एक्सन टास्क फोर्स)को पेरिसमा सम्पन्न बैठकमा पाकिस्तानलाई ‘ग्रे सूची’मा राखियो । यसले गर्दा अब पाकिस्तानलाई आईएमएफ अथवा विश्व बैंकबाट प्राप्त हुने ऋणमा प्रभावित हुनेछ । यो अभ्यास गर्न सकिने विकल्प हो ।

जहाँसम्म सैन्य क्षमताको कुरा छ भारतलाई आफ्नो समग्र गुप्तचर सयंन्त्रलाई थप मजबुद बनाउन आवश्यक छ । यसबारेमा सन् १९९९ को कारगिल युद्धपछि चर्चा चलिरहेको छ । तर अझै यसमा ध्यान गएको छैन ।

कुनै खालको गुप्तचर कारवाही हुन सक्ने कुरा छ तर त्यसलाई सार्वजनिक गरिहाल्नुपर्ने जरुरत छैन ।

भावि दिनमा हुने घटनाको विकासक्रम हेर्न बाँकी छ । छिट्टै लोकसभा चुनाव हुने समयतालिका छ । यसले पनि सरकारमा रहेको पार्टीले केही गरेर देखाउने कोशिस गर्नसक्छ । तर अहिलेलाई चुनावी फाइदाको लागि समग्र देशलाई युद्धमा झोसिदैन भन्ने आशा गरौँ ।

युद्धको ध्वंसात्मक असरबारे अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुसले सुरु गराएको इराक युद्धलाई हेर्न सकिन्छ । यति लामो समयपछि पनि अमेरिका चाहेर पनि इराकबाट बाहिरिन सकेको छैन । अझ यसले पारेको आर्थिक, मानवीय र भूराजनीतिक क्षति अत्यन्त विशाल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *