उत्तर कोरियाका किम जोंग श्रीमतीसहित चीन भ्रमणमा

उत्तर कोरियाली नेता किम जोङ–उन अघोषित भ्रमणका क्रममा बेइजिङ आइपुगेका छन् । उनी चिनियाँ राष्ट्रपति सी जिनपिङको आमन्त्रणमा चीन गएका हुन् ।

उत्तर कोरियाली सरकारी मिडियाका अनुसार श्रीमती रि सोल–जुसँग चीन पुगेका किम जनवरी १० सम्म त्यहाँ बस्नेछन् ।

यो भ्रमण किम र अमेरिकी राष्ट्रपति डोाल्ड ट्रम्पबीच दोस्रो शिखर वार्ताको प्रक्रिया अघि बढिरहेको रिपोर्टहरु आइरहँदा भएको छ । दुईबीच अघिल्लो जुनमा भेट भएको थियो । उक्त भेट कुनै अमेरिकी राष्ट्रपतिको उत्तर कोरियाली नेतासँगको पहिलो भेट थियो ।

सोमबार दक्षिण कोरियाली समाचारपत्र योनहापले एक उत्तर कोरियाली रेल उच्च सुरक्षाका साथ सिमाना पार गरेको रिपोर्ट दिएपछि रेलमा किम हुन सक्ने अनुमान लगाइँदै थियो ।

सीमा सहर दानदोङको रेल स्टेशन वरपर दर्जनौं सुरक्षा गाडी तथा अधिकारीहरुले बाटो रोकेका थिए ।

दानदोङका होटलको सिमानातर्फ फर्केका कोठामा बसेका पाहुनाहरुलाई पनि तिनका कोठामा प्रवेश गर्न रोकिएको थियो ।

चीन र उत्तर कोरियाका मिडियाहरुले मंगलबार बिहान किमको भ्रमणहरुलाई पुष्टि गरे । मंगलबार विहानै किमको हरियो र पहेँलो रेल बेइजिङको एक स्टेसनमा देखिएको थियो ।

अघिल्लो पटकको वेइजिङ भ्रमणको बेला पनि प्रयोग गरिएको उक्त रेल उनका पिता किम जोङ इलले सन् २०११ मा चीन र रुसको भ्रमणको समयमा प्रयोग गरेका थिए ।

पछि बलियो सुरक्षासहित एक कारकेड केन्द्रीय बेइजिङमा देखिएको थियो ।

यो किमले एक वर्षभित्र गरेको चीनको चौथो भ्रमण हो । किमले असामान्य रुपमा आफ्नो शासनको पहिलो ६ वर्षमा बेइजिङको भ्रमण गरेनन् । तर अघिल्लो वर्ष उनी तीन पटक त्यहाँ पुगे । ती मध्ये कुनै पनि भ्रमण पूर्व घोषित थिएनन् ।

मंगलबार किमको ३५ औं जन्मदिन पनि मानिएको छ । तथापी प्योङयाङले उनको जन्मदिन हालसम्म पुष्टि गरेको छैन ।

चीन उत्तर कोरियाको महत्वपूर्ण कुटनीतिक मित्र तथा उसको व्यापार र सहयोगको मुख्य स्रोत हो ।

तीन दिनको भ्रमणले दोस्रो अमेरिका–उत्तर कोरियाली सम्मेलन चाँडै हुने अनुमान बढाएको छ ।

अघिल्लो हप्ता मात्रै ट्रम्पले किमसँगको आफ्नो दोस्रो भेटवार्ताको स्थान चाँडै घोषणा गरिने बताएका थिए । उक्त समय ट्रम्पले वासिङ्टनमा भेला भएका रिपोर्टरहरुलाई उत्तर कोरियासँग ‘राम्रो कुराकानी’ भइरहेको तर प्योङयाङमाथि लागिरहेको प्रतिबन्ध भने जारी रहने बताएका थिए ।

उता अघिल्लो हप्ता नै नयाँ वर्षको दिनमा आफ्ना वार्षीक सम्बोधनमा किमले आफू आणविक निःशस्त्रीकरणमा प्रतिबद्ध रहेको बताएका थिए । तर अमेरिकाको प्रतिबन्ध जारी रहेमा आफूले अगाडिको बाटो बदल्ने चेतावनी दिएका थिए ।

सिंगापुरमा भएको शिखर वार्तापछि किम र ट्रम्पबीचको कुटनीतिक प्रगति अगाडि बढ्न सकेको छैन । उक्त समय दुवै पक्षले कोरियाली प्रायद्विपको आणविक निःशस्त्रीकरणमा प्रवितद्धता जनाएका थिए । तर त्यसको लागि स्पष्ट खाका भने अगाडि ल्याएका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *