प्रस्तावित ५ राजदूतको संसदीय सुनुवाई सुरु

काठमाडौं– संसदीय समितिले विभिन्न देशका लागि प्रस्तावित पाँच जना राजदूतहरुको संसदीय सुनुवाई प्रक्रिया सुरु गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिको बुधबार बिहान सिंहदरबारमा बसेको बैठकले फ्रान्सका लागि दीपक अधिकारी, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी, क्यानडाका लागि भृगु ढुंगाना, थाईल्याण्डका लागि गणेशप्रसाद ढकाललाई राजदुत र मणिप्रसाद भट्टराईलाई संयुक्त राष्ट्र संघको स्थायी प्रतिनिधिमा नियुक्तीका लागि गरेको सिफारिसमाथि संसदीय सुनुवाई गर्ने निर्णय गरेको हो ।

मन्त्री परिषदको गत पुस ६ गते बसेको बैठकले अधिकारी, भण्डारी, ढुंगाना, ढकाल र भट्टराईलाई विभिन्न देशको राजदुतमा नियुक्त गर्ने सिफारिस गरी सुनुवाईका लागि संसदीय सुनुवाई विशेष समितिमा पत्राचार गरेको थियो ।

सरकारले राजदूतका लागि नियुक्ती गर्न सिफारिस गरेकाहरुको संसदीय सुनुवाई प्रक्रिया सूरु गर्ने निर्णय गरिएको समितिका सहायक प्रवक्ता केशव अर्यालले जानकारी दिए ।

समितिले संसदीय सुनुवाई प्रक्रियाका लागि उजुरी आह्वान गर्ने निर्णय पनि गरेको छ ।
बिहिबारबाट लागू हुने गरी संसदीय विधि र प्रक्रिया अनुसार १० दिनसम्म प्रस्तावित राजदूतहरुमाथि उजुरी आह्वान गर्ने निर्णय पनि गरिएको पनि समितिले जनाएको छ ।

संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि सम्बन्धित देशमा एग्रिमोका लागि परराष्ट्र मन्त्रालयले सम्बन्धित देशलाई पत्राचार गर्नेछ ।

सम्बन्धित देशले एग्रिमो पठाएपछि प्रस्तावित राजदुतहरुलाई राष्ट्रपतिले राजदुतमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *