ओली र प्रचण्डका कारण मुलुक दुर्घटनाको संघारमा पुग्यो : गगन थापा

काठमाडौं– काँग्रेस युवा नेता गगन थापाले सत्तारुढ दल नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’का कारण मुलुक दुर्घटनाको संघारमा पुगेको बताएका छन् । ४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको सन्दर्भमा राजधानीम आयोजित एक कार्यक्रममा बोल्दै थापाले सो खतरा औल्याएका हुन् ।

थापाले प्रधानमन्त्री समेत रहेका अध्यक्षद्वय ओली र प्रचण्डलाई मुलुक हाक्ने पाइलटको संज्ञा दिँदै उनीहरु बीचमै गडबड देखिन थालेकोले मुलुक दुर्घटनामा पर्न थालेको दाबी गरे । उनले भने, ‘केपी ओलीलाई गणतन्त्र मन नपर्ने र प्रचण्डलाई लोकतन्त्र मन पर्न छाडेको छ, यसले देश ठूलो संकटमा फस्ने खतरा देखिएको छ । उनीहरुले हाँकेको जहाज (मुलुक) दुर्घटनामा पर्दैछ, यसलाई जोगाउन प्रतिपक्ष दल कांग्रेस सचेत हुनुपर्छ ।’

नेता थापाले पहिलेका राजा महेन्द्र र अहिलेका प्रचण्डको व्यवहार उस्तै रहेको दाबी समेत गरे । हिजो राजा महेन्द्रले प्रजातन्त्र मन नपराएर एकदलीय शासन सुरु गरेको प्रसंग सुनाउँदै थापाले प्रचण्डलाई पनि लोकतन्त्र मन पर्न छाडेको बताए ।

केही दिनअघि सुरु भएको संसदको हिउँदे अधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले लोकतन्त्रभन्दा कम्युनिष्ट शासन व्यवस्था भएको भए छिटो मुलुकको विकास हुनसक्ने दाबी गरेका थिए । प्रचण्डको उक्त अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल कांग्रेसले आलोचना गर्दै आएको छ ।

थापाले पार्टीका संस्थापक नेता वीपी कोइरालाले सुरु गरेको मेलमिलापको नीति र उनले अख्तियार गर्ने गरेका कामको प्रसंशा गरे । उनले भने, ‘वीपी एक महान चिन्तक थिए, उहाँले पार्टी सभापतिको हैसियतमा आफुले गरेका निर्णयहरुले देशलाई परिवर्तन गर्ने हैसियत राख्थे ।’ थापाले सभापति देउवालाई पनि वीपीको जस्तो निर्णय र व्यवहार देखाउन सुझाव दिए ।

उनले वीपीले झैं राष्ट्रिय एकतालाई मजबुत पार्न र नागरिकलाई सबै अधिकार दिएमात्र कांग्रेस अघि बढ्न सक्ने दाबी गरे । उनले भने, ‘अहिलेको संविधान जोगाउनु र पूर्ण रुपमा कार्यान्वयन गर्नु नै वीपीको सपना साकार गर्नु हो ।’

वीपीले राजतन्त्र बोक्नु भनेको मरेको लास बोक्नु हो भनेको प्रसंग स्मरण गर्दै उनले अहिले कमल थापाहरुले मनाइरहेको मेलमिलाप दिवसको कुनै अर्थ नरहेको बताए । उनले भने, ‘हिजोका मण्डलेहरुले काँग्रेसलाई मेलमिलापको पाठ सिकाउनु पर्दैन ।’

अर्को प्रसंगमा थापाले पार्टी सभापति देउवा र बरिष्ठ नेता पौडेलबीचको प्रेम प्रसंग झाँग्गिएर जानुपर्नेमा जोड दिए । सभापति देउवा र नेता पौडेलबीचको प्रेम प्रसंगले जनता र कार्यकर्तामा उर्जा भरेको समेत उनले बताए । उनले भने, ‘यो प्रेम अल्लारे केटाकेटीबीचको प्रेम जस्तो नभई घरजम बसाल्ने खालको हुनुपर्छ । एउटा घर जसरी व्यवहारिक नीति, नियम र संस्कारमा रहेर चल्छ, त्यसरी नै देउवा र पौडेलको यो सम्बन्ध (प्रेम)ले पार्टीलाई संस्थागत पद्धतिले चलाउन सहयोग पुग्छ ।’

महासमिति बैठकपछि सभापति देउवाले आफु र वरिष्ठ नेता पौडेलबीच केटा र केटीबीचको जस्तै प्रेम सम्बन्ध रहेको भन्दै ठट्यौली गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *