विश्वले सिरियामा अविवेकपूर्ण मानवहत्या रोक्नैपर्छ : राष्ट्र सङ्घ

जेनेभा, २९ फागुन । अविवेकपूर्ण मानव हत्यामा परिणत भएको चार वर्षे सिरियाली युद्ध अन्त्य गर्न विश्वका नेताहरूले असमझदारी हटाउनै पर्छ भनी संयुक्त राष्ट्र सङ्घका प्रमुख अधिकारीहरूले शुक्रबार आग्रह गरेका छन् । संयुक्त राष्ट्र सङ्घका अनेकौँ संस्थाका प्रमुखहरूले एक संयुक्त विज्ञप्ति प्रकाशन गरी सिरियामा अर्थपूर्ण परिवर्तन ल्याउन आफ्नो प्रभाव प्रयोग गर्न विश्वका नेताहरूले आफूबीच मतभेद हटाउनुपर्ने बताएका छन् । उनीहरूले उक्त विज्ञप्तिमा भविष्यको पुस्ता दाउमा परेको र अन्तर्राष्ट्रिय समुदायको विश्वसनीयता पनि दाउमा परेको बताएका छन् ।
सिरियामा सन् २०११ को मार्चमा सरकारविरुद्ध शान्त प्रदर्शन आरम्भ भएको थियो भने प्रनर्शनकारीमाथि सरकारले क्रुरतापूर्वक नियन्त्रण कायम गर्न थालेपछि उक्त प्रदर्शन पूर्ण रूपको गृहयुद्धमा परिणत भएको थियो । यस युद्धका कारण यस मुलुकमा दुई लाख १० हजार भन्दा बढी जनताको हत्या भएको छ र एक करोड १४ लाख जनता विस्थापित भएका छन् । यस मलुकका एक करोड २२ लाख जनतालाई जीवन जोगाउनै सहयोग आवश्यक छ भने विस्थापित भएका ३९ लाख जनता छिमेकी मुलुकमा शरणार्थी बनेका छन् ।
संयुक्त राष्ट्र सङ्घको मानवीय मामिला, स्वास्थ्य, खाद्य सहयोग, शरणार्थी, प्यालेस्टाइन शरणार्थी तथा बालबालिकासम्बन्धी संस्थाका प्रमुखहरूले प्रकाशित गरेको विज्ञप्तिमा सिरियामा युद्वले निरन्तर रूपमा मानवको अविवेकपूर्ण हत्या गरेको दाबी गरेका छन् । उनीहरूले यो सङ्कट समाधान गर्न अन्तर्राष्ट्रिय समुदाय पनि असफल भएको दाबी गरेका छन् ।
संयुक्त राष्ट्र सङ्घका महासचिव बान कि-मुनले बिहीबार एक विज्ञप्ति प्रकाशन गरी सिरियाली जनताले बढ्दो रूपमा आफूलाई विश्वले परित्याग गरेको ठान्न थालेको चेतावनी दिनुभएको थियो । यस निकायका प्रमुख संस्थाहरूका प्रमुखले गरेको टिप्पणीले पनि महासचिव मुनको भनाइलाई जोड दिएको छ ।
उहाँले सिरियाली जनताको पीडा अन्तर्राष्ट्रिय समुदायको आँखा अगाडि निरन्तर रहेको बताउनुभएको छ । उहाँले यस्तो अवस्थामा पनि अन्तर्राष्ट्रिय समुदाय विभाजित तथा यस्ता हत्या तथा क्षति रोक्न संयुक्त प्रयास गर्न असक्षम भएको देखिएको बताउनुभएको छ । शुक्रबारको विज्ञप्तिमा संयुक्त राष्ट्र सङ्घका अधिकारीहरूले यी दुर्घटना भइरहेको हेरिरहेको र आफ्नो त्रास, क्रोध, दिकदारी व्यक्त गरिरहेको समयमा पनि यो द्वन्द्व निरन्तर रहेको उल्लेख गरिएको छ ।
उनीहरूले युद्धबीच परेका, संवेदनशील अवस्थामा रहेका, घेरामा परेका र कहीँ जाने अवस्थामा नभएका व्यक्तिहरूलाई निरन्तर सहयोगका लागि आफ्नो बचनवद्धता व्यक्त गरेका छन् । यस विज्ञप्तिमा बालबालिका, सशस्त्र सङ्घर्ष र संङ्घर्षमा यौनजन्य हिंसाका विषयमा संयुक्त राष्ट्र सङ्घका उच्च विशेषज्ञहरूले पनि हस्ताक्षर गरेका छन् र उनीहरूले परिस्थिति निकै डरलाग्दो भएको बताएका छन् ।
विज्ञप्तिमा बालबालिका तथा युवा हिंसामा परेको र हिंसा, निराशा तथा वञ्चितीकरणबाट घेरिएको उल्लेख गरिएको छ । विज्ञप्तिमा महिला तथा बालबालिका तथा पुरुष तथा युवा हिरासतमा परेको र उनीहरू विशेष गरी यौनजन्य हिंसाको जोखिममा परेको उल्लेख गरिएको छ ।
विज्ञप्तिमा यो पीडाको अवस्था अन्त्य गर्न विश्वका नेताहरूले पाइला लिनै पर्ने बताइएको छ । यसमा उनीहरूलाई द्वन्द्वरत पक्षहरूलाई नागरिकमाथि जथाभावी आक्रमण नगर्न आग्रह गर्न पनि अनुरोध गरिएको छ । विज्ञप्तिमा सिरियामा दुई लाख १२ हजार जनता महिनौँ सम्म खाना नपाई द्वन्द्वमा परेको र उनीहरूलाई खाना तथा आधारभूत शल्यक्रिया तथा अन्य औषधि पु-याउन दिन अवरोध हटाउने कुरा सुनिश्चित गर्न अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्नुपर्ने उल्लेख गरिएको छ ।
यसै गरी पानी, ऊर्जा, आपूर्ति बन्द गरी जनतालाई सामूहिक रूपमा दण्डित गर्ने काम रोक्नुपर्ने र शिक्षा प्रणाली पूर्ण रूपमा नष्ट हुने अवस्था हटाउनु पर्ने बताउँदै विज्ञप्तिमा यसका लागि दबाब आवश्यक भएको उल्लेख गरिएको छ । बीस मानव अधिकारवादी समूहले बिहीबार प्रकाशन गरेको एक विज्ञप्तिमा सिरियामा करिब एक करोड जनताले पर्याप्त रूपमा खान नपाएको र एक करोड १० जनतालाई तत्कालै सफा खाने पानी आवश्यक भएको उल्लेख गरिएको छ ।