काठमाडौं । अब हरेक महिनाको ७ गते प्रधानमन्त्रीले मन्त्रालयहरुको काम हेर्ने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सफ्टवेयर बनाएर हरेक महिनाको ७ गते प्रत्येक मन्त्रालय कामको अनुगमन गर्ने भएका हुन् ।
शुक्रबार मुख्यसचिव लोकदर्शन रेग्मीले सबै मन्त्रालयका सचिवलाई बोलाएर कात्तिक ७ गतेभित्र मन्त्रालयको कार्यसम्पादन सफ्टवेयरमा अपलोड गर्न निर्देशन दिएको प्रधानमन्त्री कार्यालयका प्रवक्ता सहसचिव बिनोदबहादुर कुँवरले जानकारी दिए ।
अब प्रत्येक महिनाको ७ गतेभित्र मन्त्रालयको प्रगति विवरण प्रधानमन्त्री कार्यालयले विकास गरेको सफ्टवेयरमा अपलोड गरिसक्नुपर्ने प्रवक्ता कुँवरले बताए । त्यहाँ अपलोड गरिएको विवरण ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने प्रवक्ता कुँवरको भनाई छ ।
सफ्टेवयरले मन्त्रालयको प्रगती ३ तहमा देखाउनेछ । रातो, हरियो, पहेँलो गरी तीन सूचकमा कार्यप्रगति देखाउने उनको भनाई छ । ति सूचकमा रातो देखिएका मन्त्री र मन्त्रालय जोखिमपूर्ण हुने कुँवरको भनाइ छ । त्यस्तै हरियो देखिएमा निगरानीमा भने पहेँलो देखिएमा सन्तोषजनक मानिने उनको भनाई छ । जुन मन्त्रालयको कार्यप्रगति रातो देखिन्छ उसलाई प्रधानमन्त्रीले कारबाही गर्नेछन् ।






