काठमाडौं- एसिड आक्रमणमा परी गम्भीर भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधन प्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले पीडित परिवारलाई थप ३ लाख राहत दिने घोषणा गरेको छ ।
प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले मंगलवार आफनो अभिव्यक्ति सार्वजनिक गर्दै उपचारत मृतककी बहिनी सुस्मीता दासको उपचार र मृतकको राहत स्वरुप बेटी बचाउ बेटी पढाउँ योजनाबाट उक्त रकम दिने घोषणा गरेका हुन् ।
उनले एसिड आक्रमणबाट गम्भीर घाइते भएकी दिदी बहिनीको उपचारको लागि यस अघि नै प्रदेश सरकारले १ लाख दिने निर्णय गरि सकेको जनाउदै सम्झना दासको जीवन रक्षा गर्न नसकिए प्रति दुःख समेत व्यक्त गरे ।
साथै उपचारत १५ वर्षीया सुस्मीता दासको उपचारका लागि प्रदेश सरकार कटिबद्ध रहेको समेत उनले बताए ।
यसैबीच मुख्यमन्त्री राउतले सो एसिड आक्रमणको छानवीन गरी दोषी उपर कारवाही गर्न तथा भविष्यमा यस्ता घटना दोहरिन नदिन आवश्यक उपाय तथा कानूनी राय सहित लिखित प्रतिवेदन १५ दिन भित्र पेश गर्न मुख्य न्यायधिवक्ता दिपेन्द्र झालाई आवश्यक निर्देशन समेत दिएका छन् ।
चन्द्रनिगाहपुर ६ बजारटोलकी १८ वर्षीया सम्झना दास र उनकी १५ वर्षीया वहिनी सुस्मिता दासलाई भदौं २६ गते राति १२ वजे अज्ञात अनुहारमा तेजाव छ्यापेर भागेका थिए ।
दिदी वहिनीको उपचार काठमाडौमा भइरहेको थियो । उपचारको क्रममा उनीहरुलाई आर्थिक अभाव भएको थियो । उपचारका लागि रौतहटमा चन्दा पनि संकलन भएको थियो तर संघीय सरकारबाट कुनै सहयोग नभएको उनका बुवा जादोलाल दासको गुनासो छ ।
प्रदेश २ सरकारले शुरुमा एक लाख सहयोग गरेको थियो ।






