‘नेपाल–भारत सम्बन्धलाई थप बलियो बनाउन भारत आएको हुँ’

नयाँ दिल्ली- भारत सरकारको निमन्त्रणामा नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्ड भारतको भ्रमणमा छन् । भ्रमणको क्रममा नयाँ दिल्लीमा रहेका प्रवासी नेपालीहरुसँग आज छलफल गर्दै उनले नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाउन आफूले भारतको भ्रमण गरेको बताएका छन् ।

छलफलमा अध्यक्षले भन्नुभयो, सरकारले अगाडि सारेको विकास योजनाको पक्षमा वातावरण बनाउन, नेपाल भारतबीच भएका सम्झौताहरु कार्यान्वयन गराउन र नेपाल भारतबीचको सम्बन्धलाई थप बलियो बनाउने भारत भ्रमणको उद्देश्य हो । उनले हाल दुई देशका बीचको सम्बन्धमा सकारात्मक विकास भएको पनि उल्लेख गरे ।

उनले बदलिएको परिस्थितिमा नेपाली कार्यवहाक राजदूत र कर्मचारीलाई अझ सक्रियतापूर्वक र गम्भीरतापूर्वक कार्यसम्पादन गर्न आग्रह समेत गरे । प्रवासी नेपालीसँग भेटघाटको व्यवस्था मिलाएकोमा कार्यावहाक राजदूत तथा दूतावासका कर्मचारीहरुमा धन्यवाद ज्ञापन गरे ।

कार्यक्रममा प्रवासी नेपालीहरुले नेपाली सीमामा हुने गरेका घटना रोक्न पहल गर्न आग्रह गरेका थिए भने बैंक खाता, भोटर आइडी, इस्योरेन्स लगायतका समस्याका बारेमा पनि समाधानका लागि पहल गर्न अनुरोध गरेका थिए ।

यसअघि, प्रचण्डसँग भारतीय राष्ट्रिय सल्लाहकार अजित डोभालसँग बिहिवार साँझ भेटवार्ता भएको छ । भेटका अवसरमा दुई पक्षीय सम्बन्धका बिषयमा छलफल भएको थियो ।

पछिल्लो दुई देशका बीचमा बढ्दै गएको सम्बन्ध र हार्दिकता सुदृढ गर्ने र दुई देशबीच पछिल्लो चरणमा भएका सहमति र समझदारीहरुलाई छिटोभन्दा छिटो तालिका अनुसार कार्यान्वयनमा लैजाने बिषयमा छलफल भएको थियो ।