नेप्लिज नर्सिङ एशोसिएसन यूकेले मनायो दशौं वार्षिकोत्सव [भिडियो सहित]

लण्डन । नेप्लिज नर्सिङ एशोसिएसन यूकेले आफ्नो दशौं वार्षिकोत्सवको अवसरमा एक विशेष समारोह बीच च्यारिटी कार्यक्रम सम्पन्न गरेको छ । 

एशोसिएसनले जुम्लाको पथरखोलामा निर्माण गरिरहेको मातृशिशु केन्द्रको लागि आवश्यक कोष जुटाउन च्यारिटी कार्यक्रम गर्दै वार्षिकोत्सव मनाइएको हो ।नेपालस्थित एक्सन वक नेपाल संगको सहकार्यमा जुम्लाको सिंजा गाउंपालिकास्थित भादगाउं भन्ने गाउंमा मातृशिशु केन्द्र निर्माणको कार्य मार्च महिनादेखि नै सुरु भइसकेको छ । ४२ हजार पाउण्डको यो प्रोजेक्टका लागि अहिलेसम्म १४ हजार पाउण्ड संकलन गरिसकेको एशोसिएसनले बांकी २८ हजार पाउण्ड संकलन गर्ने लक्ष्यमा च्यारिटी कार्यक्रम सम्पन्न गरेको हो ।

अबको दुई वर्षभित्र मातृशिशु केन्द्र निर्माणको कार्य पूरा गर्ने, सुरुका तीन वर्ष एशोसिएसनकै सहयोगमा केन्द्र सञ्चालन गर्ने र त्यसपछि स्थानीय सरकारलाई हस्तान्तरण गर्ने योजना बनाइएको छ ।

पश्चिम लण्डनको हन्स्लोस्थित प्याराडाइज ब्यांकेटिग हलमा आयोजित समारोहको अध्यक्षता एशोसिएसनकी अध्यक्ष प्रसुना कंडेलले गरेकी थिइन् । नर्सहरुले कसरी बिरामीहरुको सेवा गर्छन् भन्ने देखाउन एक नाटकीय विम्ब प्रस्तुत गर्दै नौलो शैलीमा शुभारम्भ गरिएको कार्यक्रममा एशोसिएसनका सदस्यहरुले दशौं वार्षिकोत्सवको खुशीयालीमा समाजका पदाधिकारीहरुले केक काटेर खुशीयाली मनाए । वार्षिकोत्सवमा विभिन्न नाचगान समेत प्रस्तुत गरेर माहोल संगीतमय बनेको थियो । कार्यक्रममा एशोसिएसन अध्यक्ष प्रसुना कंडेल र कार्यक्रमका प्रमुख अतिथी बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । अध्यक्ष कंडेल, कार्यक्रमका विशेष अतिथी रोयल कलेज अफ नर्सिङ्गका डेपुटी प्रेसिडेण्ट प्रो. रड थम्पसन र अल पाकिस्तानी नर्सिङ्ग एशोसिएसनकी अध्यक्ष जेबा आरिफले एशोसिएसनको स्मारिका विमोचन गरेका थिए

 

समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथी , बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले बेलायतमा रहेका सयौं नेपाली संघसंस्थाहरुमध्ये नर्सिङ्ग एशोसिएसन एक उत्कृष्ट संस्थाका रुपमा स्थापित हुन सफल भएको भन्दै प्रशंसा गरे । स्थापनापछिका १० वर्षको अवधिमा एशोसिएसनले नेपाल र नेपालीहरुको सेवामा ठूलो योगदान गरेको उनले बताए ।
‘तपाईहरुले विगतका १० वर्षसम्म जसरी आपसी एकता र सहकार्यबाट संस्थालाई यहांसम्म ल्याइपुर्याउनुभयो , आगामी दिनहरुमा आफ्नो पेशागत धर्म र कर्मलाई बचाउंदै सिंगो समुदायलाई यसरी नै फराकिलो बाटोतर्फ मार्गनिर्देशित गर्दै जानुहोस्’, डा सुवेदीले सुझाव दिए । नेपालीहरुको सेवाका लागि जुटिरहेका नर्सहरुलाई सहयोग र साथ दिनु सिंगो समुदायको कर्तव्य रहेको भन्दै उनले त्यसका लागि आग्रह पनि गरे ।
एनआरएन यूकेका अध्यक्ष योगकुमार फगामीले मानवीय सेवाको भावले नर्सिङ्ग एशोसिएसनले सञ्चालन गरेको कार्यक्रमहरुप्रति ऐक्यबद्धता र सहयोगको प्रतिबद्धता व्यक्त गरे । रोयल कलेज अफ नर्सिङ्गका डेपुटी प्रेसिडेन्ट रड थम्पसनले नेप्लिज नर्सिंग एशोसिएसनले गरिरहेका कार्यहरुको प्रशंसा गर्दै सहकार्यका लागि आफुहरु सधै तयार रहेको धारणा व्यक्त गरे ।

 

 

नेप्लिज डक्टर्स एशोसिएसन यूके अध्यक्ष डा सविन जोशीले नर्सिङ्ग एशोसिएसनबाटै प्रेरित भएर अब डक्टर्स एशोसिएसनले पनि धादिङ्ग र महोत्तरीमा मातृशिशु केन्द्र निर्माण गर्न लागेको सुनाए । एशोसिएसन अध्यक्ष प्रसुना कंडेलले कार्यक्रमका सहभागी तथा सहयोगीहरुप्रति आभार प्रकट गरिन । संस्थालाई आजको स्थानमा ल्याइपुर्याउन योगदान गर्ने अग्रज तथा सहकर्मीप्रति उनले सम्मान व्यक्त गरिन । समारोहमा संस्थाको १० वर्षे यात्राका क्रममा महत्वपुर्ण योगदान पुर्याएकाहरुलाई कदरपत्रसहित सम्मान गरियो । संस्थापक अध्यक्ष अजिता सिंखडा, पूर्व अध्यक्षत्रय शान्ता संग्रौला, बासु लामिछाने र सुशिला कार्की, टुका स्याण्डवेल क्षेत्री, मन सुनुवार, र राजेन्द्र क्षेत्री सम्मानित भएका थिए ।
कार्यक्रममा जुम्लाको मातृशिशु केन्द्रका लागि सहयोग जुटाउनका लागि चित्रकला, नेपाली क्रिकेट जर्सी लगायतको सामग्रीको अक्सन गरिएको थियो भने विभिन्न पुरस्कार सहितको राफल ड्र पनि गराइएको थियो । त्यसक्रममा साहित्यकार खगेन्द्र नेपालीले आफुले बसुन्धरा मानश्री पुरस्कार बापत प्राप्त गरेको ३ सय पाउण्ड पनि सहयोगस्वरुप प्रदान गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणका मुख्य आकर्षण नेपालका चर्चित व्यंगकवि शैलेन्द्र सिंखडा थिए । देशको समसामयिक राजनीति र सामाजिक विकृतिहरुप्रति सिंखडाको व्यंगात्मक रोचक र घोचक प्रस्तुतिबाट कार्यक्रमका सहभागीहरुले भरपुर मनोरञ्जन प्राप्त गरे । त्यसअवसरमा गायिका शर्मिला बर्देवा र आशिष राजाले गीत प्रस्तुत गरेका थिए । काव्या दाहाल, दिव्या दाहाल, परिका आले, प्रतिष्ठा त्रिपाठी लगायतले नृत्य देखाएका थिए । रफी श्रेष्ठले बांसुरी वादन प्रस्तुत गरेकी थिइन् । सुस्मिता थापा र ग्रिष्मा भुषालले कार्यक्रमको सुरुमा आकर्षक मारुनी नाचबाट स्वागत गरेका थिए ।
त्यसअवसरमा बेलायतस्थित भारतीय नर्सहरुको तर्फबाट एलिजा म्याथ्यूले स्वार्गीय बलिउड अभिनेत्री श्रीदेवीमा समर्पित एक नृत्य प्रस्तुत गरेकी थिइन । कार्यक्रमको पहिलो औपचारिक सत्र उपाध्यक्ष विनोदविकास सिंखडा र सांस्कृतिक कार्यक्रमहरुको सञ्चालन सुनिता गौतमले गरेका थिए । हेर्नुस शुक्रबार सांझ कार्यक्रमको लन्डन नेपाल न्यूज डट कमका लागि -शिब भण्डारीले तयार पारेको स्थलगत भिडियो रिपोर्ट–