ओखलढुंगा- ओखलढुंगाबाट एक बर्षमा दुई दर्जन बढि महिला हराएका छन् । आर्थिक बर्ष २०७४–०७५ मा जिल्लाबाट २८ जना महिला हराएको एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । विशेषगरी, पती विदेशमा भएका महिलाहरु बढि मात्रामा हराउने गरेको देखिएको छ ।
हराउने महिलाको उमेर समूहमा सबैभन्दा बढी २६ देखी ३५ बर्ष उमेर समुहका १७ जना रहेका छन् । त्यस्तै १८ देखी २५ बर्ष उमेर समुहका ७ जना,३६ देखी ४५ बर्ष बिचका २ जना र ४६ देखी ६० र ६० भन्दा माथी उमेर समुहका १–१ जना महिला हराएको प्रहरीको तथ्याकंमा उल्लेख छ । हराएका मध्ये हाल सम्ममा एक जना पनि फेला नपरेको तथ्याकंले देखाएको छ ।
प्रहरीको तथ्याकं अनुसार २०७४–०७५ मा सोलुखुम्बुबाट १७ जना,खोटाङबाट ३४ जना र उदयपुरबाट १०५ जना महिला हराएका छन् । हराएका मध्ये सोलुखुम्बुका ६ जना,खोटाङका १ जना र उदयपुरका १० जना मात्र फेला परेका छन् ।
एक नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार आर्थिक बर्ष २०७४–०७५ मा मात्रै यस प्रदेशका बिभिन्न जिल्लाहरुबाट १ हजार २ सय ८१ जना महिला हराएको उजुरी परेको एक नम्बर प्रदेश प्रहरी कार्यलयका सुचना अधिकारी तथा एसपी आभूषण तिमिल्सीनाले बताए । तीमध्ये १ यस ३६ जना महिलामात्रै फेला परेको उनको भनाई छ ।






