वासिङटन- सियाटल विमानस्थलबाट यात्रुवाहक विमान चोरेर त्यसलाई दुर्घटना गराउने व्यक्ति एयरलाइनकै कर्मचारी भएको खुलासा भएको छ ।
२९ वर्षीय रिचार्ड रसल होराइजन एयरमा पछिल्लो तीन वर्षदेखि लोडरको रुपमा काम गर्दै आएका थिए । यद्यपि, उनीसँग विमान चलाउने लाइसेन्स भने थिएन ।
रिचार्डले शुक्रबार ७६ सिट क्षमता भएको विमान चोरेर उडाएका थिए । जसको कारण विमानस्थल बन्द गर्नुपरेको थियो भने ९÷११ को घटना दोहोरिने आशंका गरेर दुई फाइटर जेटले विमानको पिछासमेत गरेको थियो ।
उनले ९० मिनेटसम्म विमान उडाएका थिए सो क्रममा उनले हवाई कौशल पनि देखाएका थिए ।
अन्ततः विमान केट्रोन टापुमा दुर्घटनाग्रस्त बनेको थियो ।
विमान कम्पनीमा रसलका समकक्षीले उनी ‘शान्त व्यक्ति’ भएको बताएका छन् । ‘उनलाई सबैले मनपराउँथे,’ रिक क्रिस्टेनसनले सियाटल टाइम्ससँग कुरा गर्दै भने, ‘रिचार्ड र उनको परिवारको लागि दुःखी छु ।’
एयर ट्राफिक कन्ट्रोलसँग गरिएको कुराकानीमा उनलाई विमान पूर्णरुपमा चलाउन नआउने र आफ्नो उपलब्धिबाट आफै चकित भएको पाइएको छ । कुराकानीमा उनले आफ्नो उद्देश्य कसैलाई हानी पुर्याउन नभएको बताउँदै आफूलाई ‘हारेको व्यक्ति’ भन्दै आफ्नो निकटसँग माफी पनि मागेका छन् ।
अनुसन्धानकर्ताले उनको उद्देश्य आत्महत्या गर्ने देखिएको र यसबारे थप अनुसन्धान भइरहेको बताएका छन् ।
एजेन्सी






