जिम्बाब्वेको कमान पुनः एकपटक एमर्सन मनान्गाग्वाको हातमा आएको छ । हालै सम्पन्न राष्ट्रपति चुनावमा उनले जीत हाँसिल गरेका हुन् ।
जिम्बाब्वेको चुनाव आयोगकी प्रमुख जस्टिस प्रिसिला चिगुम्बाले उनको जीतको घोषणा गरेकी हुन् ।
प्रिसिलाले १० प्रान्तको परिणाम जारी गर्दै मनान्गाग्वाले ५०.८ प्रतिशत भोट पाएको र विपक्षी नोता नेल्सन चमिसाले ४४.३ प्रतिशत भोट पाएको जानकारी दिइन् ।
मुभमेन्ट फर डेमोक्रेटिक चेन्ज (एमडीसी) गठबन्धनका अध्यक्ष मार्गन कोमिचीले नतिजालाई खारेज गर्दै यसलाई झुटो बताएका छन् ।
यस्तै, बिहिबार चमिसाले पत्रकार सम्मेलनमा आफूले राष्ट्रपति चुनाव जितेको र सत्तारुढ पार्टी जानू–पीएफ पार्टीले ‘परिणामलाई गलत साबित गर्न खोजेको’ बताएका थिए । उनले यसका लागि अनुमती नदिने पनि बताएका थिए ।
यद्यपी, चुनाव आयोगले भने परिणाम निष्पक्ष ढङ्गले सार्वजनिक गरिएको जसमा कुनै धाँधली नभएको बताएका छन् ।






