महिलाले गर्भपतनबारे ट्वीट गरिन्, जागिर खोसियो

क्रिकेट अष्ट्रेलिया (सीए) मा काम गर्ने एक महिलाले तास्मानियामा गर्भपतन सम्बन्धि सेवाको आलोचना गरेका कारण जागिर गुमाउनुपरेको जानकारी दिएकी छिन् ।

३९ वर्षीया एन्जेला विलियमसन जूनसम्म क्रिकेट अष्ट्रेलियासँग सम्बद्ध क्रिकेट तास्मानियामा सरकारी सम्बन्ध प्रबन्धक थिइन् ।

एन्जेलाले सरकारविरुद्ध ट्वीट गरेकोमा आफूलाई जागिरबाट निकालिएको बताएकी छिन् । यसबारे टिप्पणी दिँदै क्रिकेट अष्ट्रेलियाले ‘आक्रामक टिप्पणी’ सहन नसक्ने बताएको छ ।

तास्मानियाको शल्यक्रियामार्फत गर्भपतन गराउने एकमात्र क्लिनिक बन्द हुनु यो विवादको कारण बनेको छ ।

बढ्दो खर्च र मागमा कमीका कारण यो क्लिनिक बन्द गरिएको थियो । जसका करण एन्जेला विलियमसन र अन्य महिला गर्भपतनका लागि अष्ट्रेलिया जानु पर्यो ।

तास्मानियाको उक्त क्लिनिक बन्द हुँदा गर्भपतनका लागि टाढा जानुपर्ने र खर्च पनि अत्यधिक हुने गरेको एन्जेलाको भनाई छ ।

अब एन्जेलाले क्रिकेट अष्ट्रेलियाविरुद्ध कानूनी कारवाही गर्ने निर्णय गरेको छ ।

के थियो ट्वीट ?

एन्जेलाले संसदमा गर्भपतनबारे दिइएको एक सांसदको भाषणमा ट्वीट गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘संसदमा अहिलेसम्मको सबैभन्दा गैर जिम्मेवार, बकवास र लापरवाह भाषण ।’

क्रिकेट अष्ट्रेलियाले एन्जेला विलियमसनलाई २९ जूनमा दिएको निष्कासन (टर्मिनेशन) पत्रमा यो ट्वीट उल्लेख गरिएको थियो ।

फेयरफ्याक्स मिडियामा प्रकाशित यो पत्रमा लेखिएको छ, ‘तपाईंको भूमिकामा क्रिकेट तास्मानिया र क्रिकेट अष्ट्रेलियाको सरकारमा सम्भव भएसम्म सर्वोत्तम तरिकाले प्रतिनिधित्वको माग छ ।’

‘तपाईंले गर्नुभएको ट्वीट मूल रुपमा यो भूमिकाको आवश्यकता अनुसार उपयुक्त छैन ।’

नियमको उल्लंघनः

एन्जेलाका वकिल कमल फारुखका अनुसार उनलाई जागिरबाट निष्कासन गर्नु रोजगारसँग जोडिएको नियमको उल्लंघन हो ।

कमल फारुख भन्छन्, ‘राजनीतिक विचार कानून अनुसार सुरक्षित छ । एन्जेला निकै चकित छिन् कि एउटा यस्तो विषयले उनको जागिर खोसिएको छ ।’

‘क्रिकेट अष्ट्रेलियामा उनको काम क्रिकेट सम्बन्धि मामलामा सरकारसँगको कुराकानीमा समावेश हुनु हो । त्यसमा तास्मानियामा प्रजनन स्वास्थ्य सेवामा गरिएको टिप्पणीसँग के मतलब ।’

यस्तै, क्रिकेट अष्ट्रेलियाका अनुसार उनीहरु कर्मचारीको विचारको सम्मान गर्दछ तर ‘यो संगठनको नीतिको उल्लंघन गर्ने अपमानजनक टिप्पणी गर्नबाट बच्न’ पनि आशा गरेको छ ।

तास्मानियामा गर्भपतनबारे विवादः

तास्मानियामा गर्भपतनलाई कानूनी मान्यता दिइएको छ तर जनवरीमा शल्यक्रियामार्फत गर्भपतन गराउने एकमात्र क्लिनिक बन्द भएपछि धेरै मानिसहरु समस्यामा परेका छन् ।

फेब्रुअरीमा एन्जेला विलियमसन ती पहिलो महिलामध्ये थिइन् जो सर्जिकल गर्भपतनका लागि मेलबर्न गएकी थिइन् किनभने तास्मानियाको सार्वजनिक स्वास्थ्य प्रणालीमा यो सुविधा उपलब्ध छैन ।

थुप्रै निजि विशेषज्ञले शल्यक्रियामार्फत गर्भपतनको सुविधा दिने गर्छ तर यो निकै महँगो छ ।

यो तास्मानियामा मार्चमा भएको चुनावमा पनि एक प्रमुख मुद्दा थियो । स्वास्थ्य समूहले सरकारलाई यसको समाधान खोज्नका लागि दबाब दिएको थियो ।

यो महिनाको सुरुवातमा सरकारले कुनै निजी क्लिनिकबाट कम खर्चमा गर्भपतनको सुविधा उपलब्ध गराउने सहमती हुने बताएको थियो ।