लन्डन । एनआरएन यूरोप सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । गैर आवासीय नेपाली संघको ११ औँ युरोपीय क्षेत्रीय बैठक तथा ९ औँ युरोपीय क्षेत्रीय महिला बैठकको तयारी अन्तिम चरणमा पुगेको हो । सम्मेलन यहि जुलाई २९ र ३० मा लक्जेम्बर्गमा हुँदैछ ।
युरोपीय एनआरएनको प्रतिबद्धता र नेपालमा पर्यटक, ज्ञान सिप र लगानी भन्ने मुल नाराका साथ लक्जेम्बर्ग स्थित हिल्टन होटलमा आयोजना गरिदैछ । यसपटकको बैठक विशेषगरी नेपालमा पूँजी सहित ज्ञान, सीप र दक्षता भित्र्याउने र नेपालको पर्यटन प्रवर्धनमा केन्द्रित रहने आयोजकले बताएको छ ।
गैर आवासीय नेपाली संघले आफ्नो स्थापना कालदेखि नै विदेशमा रहेका नेपालीहरुले आर्जन गरेका ज्ञान, सीप, प्रविधि एवं पूँजीलाई नेपालको दिगो विकासमा प्रयोग गर्ने उद्देश्यका साथ प्रयास गर्दै आएको छ । विदेशमा रहेका नेपालीहरुले आफ्नो ज्ञान र सीपको प्रयोग गरी आफु कार्यरत मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण योगदान गरिरहेका छन् ।
विदेशमा आर्जित ज्ञान तथा सीपको प्रयोग गरी नेपालको रुपान्तरणको प्रचुर सम्भावना रहेको छ । यसपटकको युरोपीय क्षेत्रीय बैठक सोही कार्यलाई अघि बढाउन एउटा दरिलो पाइला बन्ने विश्वास लिइएको एनआरएन प्रवक्ता भूषण घिमिरले जानकारी गराए ।
यसपटकको युरोपीय बैठकमा एनआरएनका आन्तरिक विषयहरु तथा कार्य समीक्षा, एनआरएन अभियानमा युवा तथा नयाँ पुस्तालाई सहभागी गराउँदै नेपाली भाषा र संस्कृतिको जगेर्ना गराउने विषय, युरोपमा नेपालीको बढ्दो उपस्थिति र उनीहरुले भोग्नु परेका समस्या र समाधानका उपाय, युरोपमा नेपालको पर्यटन प्रवर्धन गर्ने उपाय, नेपालमा लगानीको अवसर, सबै बालबालिकालाई शिक्षा अभियानमा एनआरएनको सहभागिता, एनआरएनएको विधान, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली नागरिकता लगायतका १५ भन्दा बढी बुँदामा बृहत छलफल तय भइसकेको कार्यक्रम संयोजक शिवकुरमा बरुवालले जानकारी दिए ।
सयोजक अरुवालका अनुसार बैठकमा नेपालबाट परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली प्रमुख अतिथिको रुपमा र पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई विशेष अतिथिका रुपमा सहभागी हुनेछन । आयोजक राष्ट्र लक्जेम्बर्ग सरकारका शिक्षा, युवा तथा बालबालिका मन्त्री कलाउडे मेइश कार्यक्रमका अर्का विशेष अतिथि हुनेछन ।
यस अलावा नेपाल सरकारका कुटनीतिक क्षेत्र लगायत उच्च पदस्थ व्यक्तित्वहरु, उद्योग वाणिज्य महासंघका प्रतिनिधि तथा नेपाल र लग्जम्बर्गका निजी क्षेत्रका व्यवसायिक प्रतिनिधि, संचारकर्मी लगायत अन्य प्रतिष्ठित व्यक्तित्वहरु बैठकमा सहभागी हुनेछन ।
बैठकमा एनआरएनएका अध्यक्ष, संस्थापक अध्यक्ष पूर्व अध्यक्षहरु, संरक्षकहरु, आइसिसिका पदाधिकारीहरु लगायत विभिन्न देशका एनआरएनएका पदाधिकारीहरुको साथै युरोपस्थित संघको २८ देशका राष्ट्रिय समन्वय परिषदका प्रतिनिधिहरु सहभागीता रहने छ ।
आइसीसीका युरोप क्षेत्रीय संयोजक शिव कुमार बरुवालको संयोजकत्वमा हुन लागेको बैठक विभिन्न सत्रहरुमा बाँडिएर छलफल हुनेछ । बैठकमा समावेश विभिन्न सत्रमध्ये सीप तथा प्रविधि हस्तान्तरण सत्रको संयोजन एनआरएन आइसीसी संरक्षक राम प्रताप थापाले गरेका छन् ।
उनको नेतृत्वको समितिले युरोपका सबै एनसीसीहरुबाट प्राविधिक तथा विज्ञहरुसंग समन्वय भैसकेको छ । विशेषतः यो सत्रमा विज्ञका प्रस्तुति र काठमाडौंमा हुने आगामी सम्मेलनबारे बृहत छलफल हुनेछ ।
साथै सम्मेलनमा युरोप क्षेत्रका उपसंयोजकहरु, क्षेत्रीय महिला संयोजक, क्षेत्रीय युवा संयोजक, युरोप क्षेत्रका आईसीसी सदस्यहरु, आयोजक राष्ट्रका अध्यक्ष, महासचिव, लक्जम्बर्ग नजिकका मुलुकका अध्यक्षहरु, संचारकर्मीहरु लगायत करीब ५ सय जना सहभागी हुने आंकलन गरिएको छ ।






