दुर्घटनाग्रस्त सिम्रिक एयरको हेलिकप्टर अस्पतालको छतबाट तल झारियो

काठमाडौं- ग्राण्डी इन्टरनेसनल हस्पिटलको छतमा ल्याण्ड गर्ने क्रममा दुर्घटनाग्रस्त रहेको सिम्रिक एयरको हेलिकप्टर अाइतबार अस्पतालको छतबाट तल झारिएको छ ।

गत असार १५ गते शनिवार ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा मेडिकल टिम लिन आएको र हेलिप्याडमा ल्याण्ड गर्दा दुर्घटनाग्रस्त भएको उक्त दुर्घटनाग्रस्त हेलिकप्टर आईतवार र सोमबार दुईदिन लगाएर सिम्रिक एयरको इन्जिनियरिङ तथा रेस्क्यु टिमले तल झारेको हो ।

अस्पतालको १४ तल्ला माथि छतमा रहेको दुर्घटनाग्रस्त हेलिकप्टर हटाउने काममा हेलिकप्टर हटाइसकेपछिको अवस्थामा उक्त रुफटप हेलिप्याड अव सुरक्षित रहेको बताईएको छ ।

दुर्घटनापछि पनि ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा देशका बिभिन्न भागबाट बिरामीको उद्धार गरी ल्याउने मेडिकल इभ्याकुएशन तथा इएमएस सेवा लगायतका सम्पूर्ण सेवाहरु सुचारु रहेको अस्पतालले जानकारी गराएका छन् ।

अस्पतालको मेडिकल टिम लिन आएको सिम्रिक एयरको 9N-ALR कल साइनको हेलिकप्टर असार १५ गते दिउँसो २ बजेर ३२ मिनेटमा अस्पतालको हेलिप्याडमा ल्याण्ड गरिसकेपछि अचानक अनौठो आवाज आएर घडिको सुइको बिपरित दिशामा केहिफन्को घुमेर अस्पतालको दक्षिण तर्फको कुनामा खस्न पुगेको थियो ।