पुरुषतर्फ विजेता १ आरजिआर को टोली
अनिल मल्ल, अल्डरसट । अल्डरसट भलिबल क्लबले आयोजना गरेको दोस्रो खुला भलिबल प्रतियोगिता शनिबार अल्डरसटमा सम्पन्न भयो । पुरुष तथा महिला विधामा छुट्टाछुट्टै प्रतिस्पर्धा गराइएको प्रतियोगितामा पुरुषतर्फ १२ र महिलातर्फ ५ टोलीले भाग लिए ।
पुरुषतर्फ १ आरजिआर को टोली विजेता बन्यो भने रेडिङ उपविजेता बन्यो । विजेता टोलीले नगद १ हजार पाउण्ड र ट्रफीसहित खेलाडीहरुले प्रमाणपत्र र मेडल पाए भने उपविजेता टोलीलाई ६ सय पाउण्ड नगद र ट्रफीसहित खेलाडीहरुलाई प्रमाणपत्र र मेडल प्रदान गरियो ।
महिलातर्फ अल्डरसट टोली विजेता, विन्चेस्टर उपविजेता र बेजिङस्टोक तेस्रो भए । विजेतालाई ४ सय, उपविजेतालाई २ सय ५० र तेस्रो हुने टोलीलाई १ सय पाउण्डको नगदसहित ट्रफी र खेलाडीहरुलाई प्रमाणपत्र तथा मेडल प्रदान गरिएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार पुरुषतर्फ विजेता १ आरजिआरका कृष्ण खत्री तथा महिलातर्फ पनि विजेता अल्डरसटकै एकिना गुरुङले प्राप्त गरे ।
प्रतियोगितामा रेफ्रीको भुमिका पाण्डवखानी समुहका रुद्र राना, स्वीण्डनका बलविक्रम शाही, रेडिङका मोहन कटुवाल र मोनाका पदम पुनले निर्वाह गरेका थिए । जसमध्ये मोनाका पदम पुनलाई उत्कृष्ट रेफ्रीको पुरस्कार प्रदान गरियो । प्रतियोगितामा भाग लिन बेलायतका विभिन्न क्षेत्रबाट भलिबल खेलाडीहरु अल्डरसट आइपुगेका थिए ।
अल्डरसट भलिबल क्लबले गत वर्षदेखि बेलायतव्यापी खुला भलिबल प्रतियोगिता आयोजना गर्न सुरु गरेको थियो । क्लबका अध्यक्ष चन्दन गुरुङले प्रतियोगिताको दोस्रो संस्करण सफलतापुर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै सहभागी सम्पुर्ण टिम तथा सहयोगीहरुलाई धन्यवाद ज्ञापन गरेका छन् ।
महिलातर्फ विजेता अल्डरसट टोली महिलातर्फ विजेता अल्डरसट टोली







