दुईवटा भारतीय ट्रकमा आगजनी

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेमा रोकिराखेको दुईवटा कन्टेनर ट्रकमा अज्ञात समूहले आगजनी गरेको छ।

सडक नजिकै रोकिराखेको आरजे ४२ जिए ५०२१/आरजे ४२ जिए ०७५६ नम्बरको २२ चक्के भारतीय नम्बर प्लेटको दुईवटा कन्टेनर ट्रक आगजनीबाट जलेर ध्वस्त भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रामबहादुर केसीले जानकारी दिए।

अाइतबार बिहान करीब ३ बजेदेखि आगो लागेपछि चार वटा डोजरको सहयोगमा आगलागी भएको ट्रक वरिपरि माटो हालेर आगो दायाँबायाँ नफैलिनका लागि प्रयास गरिएको थियो। आगलागी भएको २ घण्टा पछि काठमाडौँ महानगरको दमकलले आगो नियन्त्रणमा लिइएको छ। आगलागीबाट मानवीय क्षति भएको छैन।

 

बस्ती, पेट्रोल पम्प र ग्यास उद्योग नजिकै रोकिराखेको ट्रकमा आगलागी भएपछि स्थानीयवासी त्रसित भएका थिए। आगलागीपछि विद्युत्को तार जल्दा विद्युत् सेवा अवरुद्ध भएको छ । आगो नेकपा बिप्लव नेतृत्वले आगो लगाएको आशंका गरिएको छ। घटनापछि अहिले उक्त सडक क्षेत्रमा सवारी साधनको चाप रहेको छ। रासस