सुन तस्करी रोक्ने प्रधानमन्त्री ओलीको घोषणा

????????????????????????????????????

काठमाण्डौ– प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा सुन तस्करी हुन नदिने घोषणा गरेका छन् । सोमबार सुनचाँदी व्यवसायी महासंघको पाँचौ वार्षिक साधारण सभालाई काठमाडौंमा उद्घाटन गर्दै उनले सो घोषणा गरेका हुन् । उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले कानुनको परिधिभित्र रहेर व्यावसाय गर्न सुनचाँदी व्यवसायीहरुलाई पनि सचेत गराए ।

सरकारको ध्यान मुलुकको समृद्धि, विकास र सुशासनको पक्षमा रहेको पनि स्पष्ट पार्दै प्रधानमन्त्री ओलीले सबै व्यावसायलाई उत्तिकै सुरक्षा र सम्मान दिने प्रतिबद्धता पनि व्यक्त गरे । प्रधानमन्त्री ओलीले शान्ति–सुरक्षा हुँदैनकि भनेर आशंका नगर्न पनि सुनचाँदी व्यवसायीहरुलाई आग्रह गरे ।

प्रधानमन्त्री ओलीले उत्पादनलाई वृद्धि गर्दै सरकारले रोजगारीको अवसर सृजना गर्न चाहेको समेत स्पष्ट पारे । उनले हरेक व्यावसायले राज्यमा रोजगारीको अवसर सृजना गर्ने उल्लेख गर्दै त्यसको प्रबद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको पनि बताए ।