लण्डन । अधिवक्ता गोविन्द बेलवासेद्वारा लिखित बहुचर्चित पुस्तक राष्ट्रवाद ‘भ्रम कि यथार्थ’ अब युकेमै उपलब्ध हुने भएको छ।
हाल बेलायतमा बसोबास गरिरहेका अधिवक्ता बेलवासे र अधिवक्ता सुरेन्द्र श्रेष्ठले एकपटक नेपालको नागरिकता प्राप्त व्यक्तिले विदेशको नागरिकता लिएपनि उनको नागरिकता रद्द नगरियोस् भनी नेपालमा दायर गरेको मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ र छिट्टै त्यसबारे फैसला हुने अपेक्षा गरिएको छ।
गैरआवासीय नेपाली नागरिकहरुको प्रमुख चासोको विषय तथा एनआरएनएको प्रमुख मागको रुपमा रहेको नागरिकता निरन्तरताको विषय पुस्तकमा समेटिएको छ। बेलवासेद्वारा लिखित पुस्तकमा नेपाली नागरिकले जान्नै पर्ने नागरिकता संबन्धी कानुनी ब्यवस्था, राष्ट्रवाद र नागरिकता सम्बन्धी विवेचनाका साथै विश्वका विभिन्न मुलुकहरुमा बसोवास गरी त्यहाँको नागरिकता प्राप्त गरेका नेपालीहरुले स्वेच्छाले परित्याग नगरेसम्म तिनीहरुको नेपाली नागरिकता कायम रहने संवैधानिक एवं कानूनी ब्यवस्था गरिनुपर्छ भन्ने कुरालाई केन्द्रीय विषयवस्तु बनाइएको छ।
पुस्तक किन्न http://pustak.org.uk/writer.aspx?id=190 मा गएर अनलाईन अर्डर गर्न सकिन्छ। पुस्तकको मूल्य ५ पौण्ड राखिएको छ।

पुस्तकमा अधिवक्ता बेलवासेले अमेरिकी सर्वोच्च अदालतद्वारा Afroyim V. Rusk को मुद्दामा प्रतिपादित सिद्धान्तलाई आफ्नो तर्कको आधार बनाएका छन् । सो मुद्दामा अमेरिकी अदालतले ब्यक्तिले स्वेच्छाले परित्याग गरे बाहेक राज्यले कसैको पनि नागरिकता खारेज गरिदिनु हुंदैन भन्दै लेखकले विश्वमा दोहोरो नागरिकता सम्बन्धी ब्यवस्था अंगिकार गर्ने मुलुकहरुको दृष्टान्त समेत प्रस्तुत गरेका छन् । यत्तिमात्र नभएर लेखकले नेपाल नागरिकता ऐन, २०६३ को दफा १० को ब्यवस्था नेपालको संविधान(२०७२) को प्रस्तावना, धारा १०, ४५ र संविधानको भाग ३ का धाराहरुसंग बाझिएकाले उक्त ब्यवस्थालाई बदर गरिपाऊं भनी नेपालको सर्वोच्च अदालतमा रिट निवेदन समेत प्रस्तुत गरेका छन् । लेखकले उक्त मुद्दासंग सम्बन्धित विषयलाई पनि पुस्तकको विषयवस्तु बनाएका छन् ।
पुस्तकमा लेखकले नागरिकता सम्बन्धमा नेपालले स्पष्ट नीति निर्धारण गर्नुपर्ने बेला आएको भन्दै गैर आवासीय नेपालीहरुले उठाउने गरेका सवालहरुमा समेत गम्भीरतापूर्वक छलफल र
मनन गर्न आह्वान गरेका छन्। यस सन्दर्भमा एक किसिमको निकास सर्वोच्चमा विचाराधिन मुद्दाको फैसला पश्चात निस्कन सक्दछ ।
दोश्रो कुरा, अवसर, वाध्यता, आकर्षण जुनसुकै कारणले गर्दा नेपाल छाडी विदेशमा बसोवास गर्न पुगेका भए तापनि गैर आवासीय नेपालीहरुको मनमा आफ्नो मातृभूमिप्रति औधि माया छ । उनीहरुको मातृभूमि प्रतिको यस किसिमको भावनालाई नेपालको विकास अभियानमा समाहित गर्न पनि लेखकले आफ्नो पुस्तकमा जोड दिएका छन्।






