कंसाकार भन्छन्, ‘निगमको जहाज लन्डन–काठमाडौं उडाउन सम्भव छ’

लन्डन– नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार निगमको जहाज लन्डन–काठमाडौं उडाउन सम्भव रहेको बताएका छन् ।

निगमले लन्डन र न्यूयोर्कसम्म जहाज पुर्‍याउने महत्त्वाकांक्षी योजना सार्वजनिक गरेलगत्तै विभिन्न कोणबाट बहस सुरु भएपछि कंसाकारले आधिकारिक धारणा बाहिर ल्याएका हुन् । ‘आजको भोलि लन्डन, न्युयोर्क जाने निगमले कहीँ कतै भनेको छैन, तर पर्यटन उद्योगलाई द्रुतगतिमा विकास गरेर मुलुकको अर्थतन्त्रलाई टेवा दिने हो भने एकदिन लन्डन र अमेरिकासम्म राष्ट्रिय ध्वजावाहकको पहुँच पुर्‍याउनैपर्छ भन्ने हाम्रो मान्यता हो,’ उनले भने, ‘हामी पुर्‍याएरै छाड्छौं ।’

संसारभर ठूलठूला संस्थाहरूमा हुने झिनामसिना व्यवस्थापकीय कमी–कमजोरी र केही कर्मचारीको कमसल क्षमता वा बानी–व्यहोरामा मात्र ध्यान केन्द्रित गरेर झन्डै २५ वर्षसम्म एउटा पनि विमान नथपिकन विदेशी एयरलाइन्सलाई ९६ प्रतिशतसम्मको बजार कब्जा गर्न दिएको उनको भनाइ छ ।

प्राविधिक तथा व्यापारिक दृष्टिकोणले बैंकक, दुबई, दिल्ली उडान गर्नु र लन्डन, न्युयोर्क उडान गर्नु निगमको पाइलट, इन्जिनियर, मार्केटिङ तथा लेखा अधिकृतका लागि खासै केही फरक नपर्ने कंसाकारले बताए ।

निगम नेपाली नागरिकले चलाएको एक संस्था भएकाले अन्य १ सय ९९ मुलुकका हजारौं एयरलाइन्सले लामो दूरीको फ्लाइट चलाउनसके पनि हामी नेपाली भएकाले चलाउन सक्दैन भन्ने धारणासँग निगम सहमत नहुने कंसाकारले उल्लेख गरे ।