लण्डन । नेपाल आदिवासी जनजाति महासंघ बेलायतले नयाँ नेतृत्व पाएको छ । महासंघको तेस्रो अधिवेसनले जंग सुनुवारलाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै नयाँ नेतृत्व पाएको हो । सुनवारको नेतृत्वको नयाँ कार्यसमितिको कार्यकाल ३ वर्ष रहनेछ । तमु भवन मिचेटमा भएको अधिवेशनले २१ सदस्यीय कार्यसमिति रहनेमा सहमती जुटन नसकेपछि १७ पद रिक्त राखिएको छ ।
नयां कार्यसमितिको उपाध्यक्षमा कर्ण दुरा र लिला सेलिंग र महासचिवमा खुशी लिम्बु चयन भएका छन् । वरिष्ठ उपाध्यक्ष, सचिव, सहकोषाध्यक्षसहित २१ कार्यसमितिका अरु ठाउंहरुमा भने सहमति हुन नसक्दा अधिवेसनले चयन गर्न सकेको छैन । एकेन्द्र गुरुंगको संयोजकत्वमा पुर्ण लक्सम, गणेश इजाम, श्रीप्रसाद लिम्बू, भक्तबहादुर दुरा सदस्य रहेको निर्वाचन समितिले नयां कार्यसमिति चयन गराएको हो । बेलायतमा विभिन्न १३ जातीय संस्था क्रियाशिल छन् । तीमध्ये ११ संस्था जनजाति महासंघ बेलायतमा रजिस्टर भएका छन् । तीनै संस्थाहरुले पठाएका प्रतिनिधीको सहभागितामा अधिवेसन सम्पन्न भएको हो ।
अधिवेसनमा भाग लिन नेपालका पूर्व सांसद तथा जनजाति महासंघ केन्द्रका संस्थापक महासचिव सुरेश आले र पूर्व महासचिव बालकृष्ण माबोहांग बेलायत आएका थिए ।






