माग पूरा नहुदाँसम्म अनशन जारी रहन्छ : प्रा डा केसी

काठमाडौं- प्रा डा गोविन्द केसीले आफ्नो अनशन जारी राख्ने बताउनुभएको छ ।

अदालतको अवहेलना मुद्दामा पक्राउ परी बुधबार साधारण तारेखमा छुटेपछि आज पे्रस विज्ञप्ति जारी गर्दै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान शिक्षण अस्पतालका प्रा डा केसीले आफ्ना माग पूरा नभएकाले अनशन जारी रहने स्पष्ट पार्नुभएको छ ।

“अदालतको सम्मानप्रति मेरो सधैँ सम्मान रहेको छ”, उहाँले विज्ञप्तिमा भन्नुभएको छ, “प्रधानन्यायाधीशबारे मैले उठाएका प्रश्नलाई गम्भीरतापूर्वक लिएर सर्वोच्च अदालतले उहाँलाई न्यायिक छानबिनको दायरामा ल्याएकोमा सो आदेशको प्रशंसा गर्दछु ।”

छानबिनपछि सत्य र तथ्यगत रुपमा निर्णय हुने विश्वास व्यक्त गर्दै प्रा डा केसीले चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा न्यायालयको शुद्धीकरणको अभियानमा आफ्ना बाँकी माग पूरा नहुञ्जेल आफ्नो अनशन जारी रहने बताउनुभयो ।

चिकित्सा शिक्षा अध्ययन संस्थानको चार वर्षअघिको डिन पुनःबहालीसम्बन्धी अदालतले गत आइतबार गरेको आदेश न्यायसंगत नभएको भन्दै प्रा डा केसीले प्रधानन्यायाधीशको राजीनामाको मागसहित सोमबारदेखि १४औँ अनिश्चितकालीन आमरण अनशन शुरु गर्नुभएको थियो ।

–––