काठमाडौं– अदालतको अवहेलना अभियोग लागेका डा. गोबिन्द केसीलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । मंगलबार इजलासमै बयानपछि वीर अस्पतालमा भर्ना भएका उनलाई त्यहाँबाट सर्वोच्च अदालतमा उपस्थित गराइएको हो ।
उनीविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलासमा परेको छ । केसीले इजलासमा आफ्नो कुरा राख्ने समेत बताइएको छ । उनले इजलासमा आफ्नो कुरा राखेपछि बहस सुरु हुने बताइएको छ ।
यसअघि सर्वोच्च अदालतले अवहेलनासम्बन्धी मुद्दामा केसीसँग मंगलबार पनि बयान लिएको थियो ।
बयान लिँदालिँदै अदालतको समय सकिएपछि सुनुवाइ आज लागि तय भएको छ ।
मंगलबार बयान सकेपछि सुनुवाइका लागि न्यायाधीशद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको संयुक्त इजलासमा तोकिएको थियो । तर बयान सक्दा नै समय सकिएको हुनाले सुनुवाइ हुन नसकेको हो ।
डा केसीले हिजो अवहेलना मुद्दामा सात पेज बयान दिएका थिए । केसीको पक्षमा वरिष्ठ अधिवक्ताहरु कृष्ण भण्डारी, दिनेश त्रिपाठी, अधिवक्ता सुरेन्द्र भण्डारी, ओम अर्याल, लेखनाथ पौडेललगायतले बहस गर्ने बताइएको छ ।
प्रा डा केसीको सुनुवाइ आज हुने भएपछि अदालतबाट आदेश के आउँछ भन्ने निकै चासो देखिन्छ ।
अदालतको अवहेलनाअन्तर्गत एक वर्ष जेल सजाय वा रु १० हजार जरिवाना वा दुवै हुने व्यवस्था छ ।






