काठमाडौं- नेपाली कांग्रेसबाट प्रदेशसभातर्फ समानुपातिक सूचीको नाम सच्याएर निर्वाचन आयोग पठाएको छ।
प्रदेशसभाको ७२ सिटका लागि यसअघि पठाइएको सूची त्रुटिपूर्ण रहेको भन्दै आयोगले सच्याउन तीन दिनको समय दिएको थियो।
सच्याएर पठाइएको सूचीमा प्रदेश नम्बर १ मा टेकचन्द्र विश्वासको नाम हटाइएको छ। उनको ठाउँमा कल्पनाकुमारी सरदारलाई समेटिएको छ। यस्तै सीतादेवी पौडेललाई हटाएर शान्ता पौडेलको नाम आयोगमा पेश गरिएको छ।
क्रम संख्यामा शान्ता एक नम्बरमा भए पनि तीन नम्बरमा रहेकी सीतादेवीको नाम यसअघिको सूचीमा पठाइएको थियो।
प्रदेश नम्बर २ मा भने सलमा खातुनको नाम हटाएर आदिवासी जनजाति कोटाबाट शोभा लामाको नाम बुझाइएको छ। त्यसैगरी प्रदेश ५ मा सूर्यमति उपाध्यायको सट्टा शान्तिदेवी बर्मा सोनारलाई दलित कोटाबाट पठाइएको छ।






