तमुधिं यूके १७ औं ल्होछार मनाउन कलाकार मेलिना र नरजङ्ग लन्डन उत्रंदै

 लन्डन । तमुधिं युकेले विविध कार्यक्रम साथ तमु (गुरुङ) हरुको महान् पर्व ल्होछार मनाउने भएको छ ।
आउँदो ३० डिसेम्बरका दिन रेडिङस्थित रिभरमेड लिजर सेन्टरमा मनाउन लागेको ल्होछार कार्यक्रमको तयारी पूरा भएको तमुधिं युकेले जनाएको छ ।
कार्यक्रममा नेपालकी चर्चित गायिका मेलिना राई र गायक नरजङ्ग गुरुङको विशेष प्रस्तुति रहने भएको छ । त्यस्तै,  लमजुङ समाज युकेको निमन्त्रणमा बेलायत आएका चर्चित लोकगायिका विमाकुमारी दुरा, धन गुरुङ, अश्मी गुरुङ, मञ्जु बिक र स्थानीय कलाकारहरुको समेत प्रस्तुति रहने आयोजकले बताएको छ ।
धार्मिक पूजाका साथ सम्पन्न हुन लागेको  ल्होछार कार्यक्रममा नेपालबाट धर्मगुरु लामा गुप्ती गुरुङको विशेष उपस्थिति रहने छ । त्यस्तै, बेलायतमा भ्रमणमा रहेका धर्मगुरु खेम्पो से नाम्खा दोर्जे, खेम्पो भोजेन्द्र शिला र खेम्पो छेवाङ घलेको पनि धार्मिक पूजामा सहभागिता रहने छ ।
 तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले खी ल्होछार (कुकुर वर्ग) को अग्रिम शुभकामना व्यक्त गर्दै सबै तमुहरुलाई कार्यक्रममा उपस्थित भएर आफ्नो महान पर्व उमंगका साथ मनाउन अपिल गरेका छन् । आगामी वर्ष नेतृत्व हस्तान्तरणमा बढि फोकस हुनुपर्ने भएकाले यसपटक ल्होछार बढि मनोरन्जनात्मक बनाउने तयारी गरिएको अध्यक्ष गुरुङले जनाए ।