बेलायतमा विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान कार्यक्रम २६ डिसेम्बरमा [भिडियो सहित]

लन्डन । बेलायतमा रहेर नेपाल र नेपाली समुदायको वृहत्तर हितका लागि समर्पित अभियन्ताहरुलाई नागरिक सम्मान गर्ने तयारी गरिएको छ ।

आगामी २६ डिसेम्बर सांझ लन्डनमा विश्व परिक्रमा विशिष्ट नागरिक सम्मान २०१७ प्रदान गर्न लागिएको आयोजकले जनाएका छन् । बक्स अफिस इन्टरनेशनल ग्रुपका तर्फबाट युवा पत्रकार रामबहादुर सुवेदी (आर के सुवेदी) ले उक्त सम्मान प्रदान गर्न लागेको कार्यक्रम संयोजक व्यवसायी सुरेन्द्रप्रसाद श्रेष्ठले आइतबार पत्रकार सम्मेलनमा जानकारी दिए । कार्यक्रम २६ डिसेम्बर सांझ सि एण्ड एल कन्ट्री क्लब वेष्ट इन्ड रोड, नर्थहोल्टमा हुनेछ जसमा बेलायती तथा नेपाली विशिष्ट अतिथीहरुलाई आमन्त्रण गरिएको छ ।
सुवेदीले आफ्नो पृथ्बी परिक्रमा सम्मान अभियान अन्तर्गत बेलायतका अभियन्ताहरुलाई सम्मान गर्न लागेको जनाउंदै युएइ, मलेसिया, सिंगापुर र थाइल्याण्डपछि बेलायतमा पांचौं पटक उक्त सम्मान गर्न लागिएको जनाए । सन् २०१६ मा विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरमा हाइ अल्टिच्युड अवार्ड वितरण गरेर गिनिज बुक अफ वल्ड रेकर्डमा आफ्नो नाम अंकित गराएको बताउंदै उनले समुद्रमाथि, समुद्रमुनी, उडिरहेको हवाइ जहाजमा, खाडी मुलुक, युरोप र एसियामा पहिलो पटक नेपाली चलचित्रको अवार्ड वितरण गरेर अन्तर्राष्ट्रिय जगतमा नेपाली कला संस्कृति र भाषालाई प्रचार प्रसार गरेको बताए । भविष्यमा सम्मानित व्यक्तित्वहरुका बारेमा एउटा ‘स्मारिका’ समेत प्रकाशन गर्ने सोच बनाइएको सुवेदीले जनाए ।

विभिन्न क्षेत्रमा योगदान गर्ने नेपाली तथा ब्रिटिश नागरिकलाई सम्मान गर्ने तयारी भएको जनाउंदै कार्यक्रम संयोजक व्यवसायी सुरेन्द्रप्रसाद श्रेष्ठले उपयुक्त नाम सिफारिसका लागि नेपाली समुदायसंग आव्हान गरेका छन् । हाम्रो यो निस्वार्थ र गैर नाफामुलक कार्यक्रम हो । यसमा सबै वर्ग, जातजाती, क्षेत्र र लिंगका मानिस समावेश हुनेछन्, श्रेष्ठले भने, देशका लागि समर्पित कतिपय अभियन्ता हामीलाई थाहा नभएको हुन सक्छ । त्यस्ता व्यक्तित्वलाई सिफारिस गरिदिन समस्त मिडिया र समुदायसंग हाम्रो आग्रह छ ।
बेलायतका प्रमुख संघसंस्थाको सिफारिस र मिडिया कभरेजको आधार तथा जुरीमार्फत सम्मानित हुने व्यक्तित्व छनोट गरिने पनि श्रेष्ठले बताए । कार्यक्रममा सोलिसिटर राजु थापा, नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठ, क्याप्टेन आर एस श्रेष्ठ लगायतले विभिन्न सुझाव दिए । उनीहरुले कार्यक्रम विवादरहित बनाउन थप परामर्श र एप्रोच गर्न सुझाएका थिए ।