कम्युनिस्टहरूले ५० वर्ष शासन चलाउँछौ भनेपछि कांग्रेसलाई तनाव

काठमाडौँ- नेपाली कांग्रेसले वाम गठबन्धनले बहुमत ल्याएर मुलुकमा ५० वर्षसम्म निर्वाचन हुनै नदिने आरोप लगाएको छ ।

नेपाली कांग्रेसका नेता एवम् केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक बालकृष्ण खाँडले एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले निर्वाचन हुनै नदिने गरी शासन चलाउन खोजेको आरोप लगाए ।

‘कम्युनिष्टको सरकार बने ५० वर्षसम्म शासन गर्ने अभिव्यक्ति दुई दलका नेताले दिइरहेका छन्’, उनले भने, ‘उनीहरुले दिएको यो तर्कलाई लिएर नेपाली कांग्रेस गम्भीर भएको छ ।’

उनले पाँच वर्षका लागि हुने आवधिक निर्वाचनका बेला ५० वर्षसम्म शासनको कुरा गर्नुलाई आफ्नो पार्टीले गम्भीर रुपमा लिएको प्रतिक्रिया पनि दिएका छन् । ओली र दाहालले वाम गठबन्धनले दुईतिहाई बहुमत ल्याएर मुलुकमा ५० वर्षसम्म शासन चलाउने अभिव्यक्ति दिँदै आएका छन ।

बुधबार पार्टीनिकट बुद्धिजीविहरुमाझ कांग्रेस नेता खाँडले ५० वर्षसम्म शासन चलाउने अभिव्यक्ति दिएर कम्युनिस्टहरुले मुलुकमा निर्वाचन नै हुन नदिने षडयन्त्र गरिरहेको पुष्टि भएको पनि दावी गरे । उनले मुलुकको सबैभन्दा बढी राष्ट्रवादी शक्ति पनि आफ्नै पार्टी भएको दोहोर्याएका छन् ।

कांग्रेस नेता खाँडले कानुन विपरित भएकाले सरकारले बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि चिनिया कम्पनीसँग गरिएको ठेक्का सम्झौता रद्द गर्नुपरेको पनि स्पष्ट पारेका छन् ।