१०० सिट जित्ला कांग्रेसले ?

काठमाडौं– निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूले जित(हारको चुनावी आकलन गर्न सुरु गरेका छन् । कांग्रेसले १०० सिट कटाउने र एमालेले ८७ सिट जित्ने दाबी गरेका छन् । यता माओवादी केन्द्र भने आन्तरिक रिपोर्ट पर्खंदै छ ।

६० स्थानमा जित सुनिश्चित रहेको र मिहिनेत गर्दा थप ५० स्थानमा पनि जितिने सर्वेक्षणले देखाएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

१६५ क्षेत्रमध्ये कांग्रेसले राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग चार–चार तथा नयाँ शक्ति र संघीय समाजवादी फोरमसँग एक–एक स्थानमा तालमेल गरेको छ ।

एमालेले उम्मेदवारी दिएका मध्ये ९० प्रतिशत स्थानमा जित्ने बताएको छ । ९६ स्थानमा उम्मेदवारी दिएको एमालेको दाबी सही भएमा उसले ८७ सिट जित्नेछ । पार्टी केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले उम्मेदवारी दिएका स्थानको ९० प्रतिशत जित्ने गरी रणनीति बनाएर पार्टी अघि बढिरहेको बताए । वाम गठबन्धनका माओवादीले ६२ स्थान उम्मेदवारी दिएको छ भने सात स्थान साना दल र स्वतन्त्रले लिएका छन् ।

माओवादी केन्द्रले प्रतिनिधिसभा निर्वाचनमा पार्टीले कति स्थानमा जित्छ भन्ने आंकलन गरिनसकेको जनाएको छ । एमालेसँग संयुक्त घोषणापत्र नै जारी गरेर चुनावी अभियानमा लागेको माओवादीले प्रतिनिधिसभामा ६२ स्थानमा उम्मेदवारी दिएको छ ।