प्रधानमन्त्री देउवाले भने, मन्त्रिपरिषद विस्तार गर्नु अचारसहिंता उल्लंघन होइन’

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले १२ बुँदे सम्झौताको जगमा उभिएर संविधानसभा गठन भयो र त्यसबाट संविधान निर्माण भएको धारणा राखे ।
संसदको अन्तिम दिन शनिवार संसदमा बोल्दै उनले संविधान कार्यान्वयनका लागि व्यवस्थापिका संसदबाट थुप्रै काम भएको बताए ।

लोकतन्त्रको रक्षा, प्रेस स्वतन्त्रता तथा समाजिक न्यायका लागि सरकार दृढताका साथ अगाडि बढ्ने भन्दै प्रधानमन्त्री देउवाले मधेशीको मागलाई सम्बोधन गर्न यसै संसदबाट गर्ने प्रयास गरिएको थियो तर, विभिन्न कारणले सफल नभएको धारणा राखे ।
संविधान कार्यान्वयनमा दलहरुले गरेको सहयोगको प्रशंसा गर्दै उनले यो नयाँ संविधान उत्कृष्ट संविधान हो, र यसलाई अझ उत्कृष्ट बनाउन संशोधन गर्न नेपाली काँग्रेस रहेको स्पष्ट पारे ।
अब मुलुकलाई समृद्ध बनाउने अभियानमा अगाडि बढ्ने बताउँदै उनले अब साना – मसिना कुरामा नअल्झिने बताए । राष्ट्रपति विद्या देवी भण्डारीले संविधानको भूमिका निर्वाह गरेको प्रति उनले धन्यवाद लिए ।
मन्त्रीको सँख्या बढ्यो कि घट्यो भनि दुईचार दिनमा थाहा पाउनु होला भन्दै ओलीलाई लक्षित गर्दै उनले भने, ‘नेपाली काँग्रेसले राष्ट्रियता र प्रजातन्त्रका लागि कसैसँग सम्झौता गर्दैन ।’ स्थानीय तहको चुनाव गर्नुभन्दा पहिला पनि मन्त्रीपरिषद् विस्तार भएको थियो, त्यो बेला उनले (ओली) किन बोलेनन् भनि प्रश्न गरे ।
उनले भने, आचारसहिंता उल्लघंन भएको छैन, निर्वाचन आयोगले नै मन्त्रीपरिषद् विस्तार गर्दा निर्वाचन आचारसहिंता उल्लघन नहुने भनेको छ, यसका लागि आयोगका प्रमुख आयुक्तलाई धन्यवाद दिन चाहन्छु ।’