प्रधानमन्त्रीले माओवादी केन्द्रका मन्त्रीहरुलाई हटाउनु हुन्नः डा. महत

काठमाडौं- नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री डा. रामशरण महतले तत्काल नेकपा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्न नहुने स्पष्ट पार्नुभयो ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता महतले मुलुक अहिले चुनावको मुखमा भएकाले यस्तो बेला सरकार फेरबदल र मन्त्रीहरु हटाउने वा थप्ने काम गर्न नहुने बताउनु भएको हो । महतले भन्नुभयो,‘चुनावको मिति घोषणा भईसकेको छ, अहिले सरकार तल माथि गर्नहुँदैन, यसले अस्थिरता निम्तिन्छ ।’

उहाँले भन्नभयो,‘सत्तारुढ दल नेकपा माओवादी केन्द्रले यसरी विपक्षी दलसँग चुनावी तालमेल र वाम गठबनधन बनाउने निर्णय गरेपछि मन्त्रीहरु हटाउनुपर्ने विषयमा आवाज उठेको छ, तर कांग्रेसमा अहिले मन्त्रीहरुलाई बर्खास्त गर्नेबारे छलफल गरेको छैन, कुनै निर्णय भएको छैन, हामीले अहिले त्यतातिर ध्यान दिएका छैनौं, यदि त्यसो गरियो भने झनै जटिल समस्या आउँछ, चुनावलाई असर पर्छ ।’

उहाँले मन्त्रीहरु हटाउने वा नहटाउने भन्नेबारे प्रधानमन्त्रीले निर्णय गर्ने कुरा भएको बताउनु भयो । नेता महतले एमाले–माओवादी केन्दबीच भएको पछिल्लो चुनावी तालमेल र वामएकताको प्रयास अस्वभाविक, अनैतिक र अप्राकृतिक भएको संज्ञा दिनुभयो । उहाँले भन्नुभयो,‘यो गठबन्धन छद्यम भेषमा आएको छ, गोप्य रुपमा आएको छ, दुई पार्टीहरुबीचको तालमेल नै विवादस्पद छ ।’

एमाले संविधान संशोधनको नाम नै सुन्न नचाहने र माओवादी केन्द्र जसरी पनि संशोधन गर्नुपर्छ भन्ने शक्ति भएकाले यी दुई दलमा यस बारेमा विवाद भएको उहाँको भनाई छ ।

उहाँले माओवादी केन्द्रलाई खुशी, सन्तुष्टि तुल्याउनका लागि काँग्रेसले धेरै गल्ती गरेको समेत गुनासो गर्नुभयो । उहाँले भन्नुभयो,‘जस्तो स्थानीय तहकै निर्वाचनमा भरतपुरमा काँग्रेसले माओवादीलाई साथ दिनुहुँदैन थियो, साथ दिएर गम्भिर भुल गरे कै हो ।’

उहाँले एमाले अध्यक्ष केपी शर्मा ओलीले जति नै ठूला कुरा गरेपनि एक्लै चुनाव लड्न डराएर अहिले माओवादीसँग तालमेल गर्ने निर्णय गरेको आरोप लगाउनु भयो ।\po