लन्डन । नेपालमा परोपकारी काम गर्ने संस्था ब्रिटेन नेपाल मेडिकल ट्रष्टको ५० औं वार्षिकोत्सवको उपलक्ष्यमा सो संस्थाले नेपालमा गरेको काममा आर्थिक सहयोग जुटाउने उद्देश्यले सो संस्थाका सहअध्यक्ष प्रा. सूर्यप्रसाद सुवदीले एकसय ३५ किमी लामो पैदलयात्रा पुरा गर्नुभएको छ।
इंगल्याण्ड र स्कटल्याण्डको सिमामा पर्ने रोमन सम्राट हेड्रियनले बनाएको प्राचीन हेड्रियन वालको पल्लो छेउ देखि वल्लो छेउसम्मको पैदलयात्रा उहाँले आफ्ना सहयोगी मित्रहरु डा. स्टिभ टर्नर र आन्ड्रू स्टुवार्टको साथमा पुरा गर्नुभएको हो। गत अगष्ट १४ तारिखदेखि हुरु भएको पदयात्रा अगष्ट २१ तारिखमा पुरा भएको थियो।
“हामी आफ्नो यात्राको क्रममा ११३२ फिटसम्म पुग्यौं भने १६ वटा ऐतिहासिक किल्लाहरु र ७९ वटा क्यासलहरु पनि पार गर्यौं। यात्राको क्रममा देखिएको इंगल्याण्डको प्राकृतिक सौन्दर्य अत्यन्त मनमोहक थियो। म शारीरिक रुपमा थाके पनि मानसिकरुपमा अत्यन्त तरोताजा अनुभव गरिरहेको छु र नेपालमा कल्याणकारी काममा सघाउन पाएकोमा सन्तोष पनि लागेको छ,” प्रा. सुवेदीले भन्नुभयो।
प्रा. सुवेदीको उक्त अभियान र ब्रिटेन नेपाल मेडिकल ट्रष्टले नेपालमा गरेको काममा सहयोग गर्न इच्छुक व्यक्तिहरुले सो संस्थाको निम्नानुसारको वेवसाइटमा गइ सहयोग प्रदान गर्न सकिनेछ। ।
http://www.britainnepalmedicaltrust.org.uk/support-us
ट्रष्टले नेपालका झण्डै ४५ जिल्लामा विभिन्न प्रकारको स्वास्थ्य सेवाको काम गरिरहेको छ ।






