प्रदेश २ मा पनि एमाले नै पहिलो पार्टी हुने राजेन्द्र महतोको अनुमान

काठमाडौं– राजपा अध्यक्ष मण्डल सदस्य मध्येका एक राजेन्द्र महतोले २ नम्बर प्रदेशमा पनि एमाले पहिलो दल हुन सक्ने अनुमान गरेका छन् । नागरिक दैनिकलाई आइतबार दिएको अन्तरर्वार्तामा महतोले सरकारमा रहेका दलहरुको रवैयाका कारण दोस्रो चरणमा भएको चुनावमा तराईमा एमालेले सवै भन्दा बढी सिट जितेको पनि दावी गरेका छन् ।

‘यो सरकारमा रहेका दलहरुको रवैया धोकेवाज नै रह्यो भने त भन्न सकिन्न, २ नम्बर प्रदेशमा एमाले नै पहिलो पार्टी बन्न सक्छ’ महतोले भनेका छन् । टीकापुर लगायत स्थानमा एमालेले जित्नुमा पनि सरकारप्रतिको जनताको रियाक्सनले काम गरेको महतोले वताए ।

तराई मधेसमा एमाले पहिलो पार्टी भएको विषयमा आफूहरुभित्र पनि छलफल चलेको महतोले वताए । ‘म भोटको कुरा गर्दिनँ , भोट त ब्यक्तिको छविले पनि आउँदो रहेछ । सरकारको रियाक्सनका कारण पनि मत जान्छ’ महतोले भनेका छन्, ‘हिजो पनि बैठकमा कुरा चल्यो कि टीकापुरमा कसरी एमालेले जित हासिल गर्यो ?’