काठमाडौ– स्थानीय तह दोश्रो चरणको निर्वाचनको मत परिणाम आउने क्रम अझै जारी छ । प्रदेश नं १, ५ र ७ मा रहेका ७ उपमहानगरपालिकामा नेकपा एमालले ५ वटामा अग्रता कायमै राखेको छ भने नेपाली कांग्रेस र राप्रपाले एकएक उपमहानगरमा अग्रता लिएका छन् ।
प्रदेश नं १ को धरान र इटहरी उपमहानगरपालिकामा नेकपा एमाले अग्रस्थान कायमै राखेको छ । त्यस्तै प्रदेश नम्बर ५ को तुलसीपुर, घोराही र बुटवल उपमहानगरमा पनि एमालेकै अग्रता छ । धरानमा एमालेका मेयर पदका उम्मेदवार तारा सुब्बाले सोमबार बिहान १० बजेसम्म ७ हजार ८२ मत ल्याएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार तिलक राईले ५ हजार ड सय ८२ मत ल्याएर पछ्याउदै छन् । यस्तै माओवादी केन्द्रका अइन्द्रबिक्रम बेघाले ३ हजार ४ सय ३५ मत ल्याएका छन् ।
प्रदेश नं. १ मै रहेको इटहरी उपमहानगरपालिकामा पनि झिनो मतले नेकपा एमाले नै अगाडिे छ । एमालेका प्रमुख पदका उम्मेदवार द्वारिकालाल चौधरीले ७ हजार ९ सय २ मत ल्याएका छन् भने नेपाली कांग्रेसका रोहित प्रसाद प्रसाईले ७ हजार ८ सय ९३ मत ल्याएका छन् ।
यता प्रदेश नं ५ मा रहेको बुटवल उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेद्धवार सुरुबाटै अगाडी छन् । एमालेका शिवराज सुवेदीले ११ हजार ८ सय ७७ मत ल्याएका छन् भने माओवादी केन्द्र र नेपाली कांग्रेसको गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका खेलराज पाण्डेले ११ हजार २ सय मत ल्याएका छन् ।
प्रदेश नं. ५ कै नेपालगञ्ज उपमहानगरपालिकामा भने राप्रपाले अग्रता लिएको छ । राप्रपाका उम्मेदवार धवल शम्शेर राणाले ९ हजार ९ सय ८३ मत ल्याएका छन् । दोश्रो स्थानमा रहेको कांग्रेसका उम्मेदवार सुरेशकुमार कनौडियाले ६ हजार १ सय ६९ मत ल्याएका छन् । यस्तै तेश्रो स्थानमा रहेको नेकपा एमालेका समसुद्धीन सिद्धिकीले ५ हजार ८ सय ७४ मत प्राप्त गरेका छन् ।
यस्तै दाङका दुबै उपमहानगरमा एमालेका उम्मेदवारले अग्रता लिएका छन् । तुल्सीपुर उपमहानगरपालिकामा नेकपा एमालेका प्रमुखका उम्मेदवार घनश्याम पाण्डेले ९ हजार ८ सय ५१ मत ल्याएका छन् भने दोश्रो स्थानमा रहेको नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले ७ हजार ३ सय २७ मत ल्याएका छन् । तेश्रो स्थानमा रहेको माओवादी केन्द्रका शेषुराम भण्डारीले २६ सय ९० मत ल्याएका छन् ।
दाङको अर्को घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरीले १९ हजार ७ सय ८२ मत ल्याएका छन् । यस्तै कांग्रेसका उम्मेदवार भूपबहादुर डाँगी क्षेत्रीले १५ हजार ५ सय ४३ मत ल्याएका छन् । माओवादी केन्द्रका जीवन गौतमले १० हजार ५ सय ४१ मत ल्याएका छन् ।
यसैबीच प्रदेश नं. ७ मा रहेको एकमात्र उपमहानगरपालिका कैलालीको धनगढी उपमहानगरपालिकाको आइतबार बेलुका ४ बजेबाट रोकिएको मतगणना अझै सुरु भएको छैन । यद्यपी धनगढीमा नेपाली कांग्रेसको अग्रता छ । वडानम्बर १७ को मतपेटिका खोल्ने क्रममा मुचुल्का नभेटिएपछि राजनीतिक दलका प्रतिनिधिले मतगणना बहिस्कार गर्ने बताएपछि मतगणना स्थगित भएको हो । यद्यपी मुख्य निर्वाचन अधिकृतले धनगढीको समस्याबारे निर्वाचन आयोगमा जानकारी पठाएको र आयोगको जवाफपछि मात्र निर्णय हुने बताइएको छ । धनगढीमा नेपाली कांग्रेसका तर्फबाट प्रमुख पदका उम्मेदवार नृपबहादुर वडले ३ हजार ६ सय ६७ मत ल्याएका छन् भने स्वतन्त्र उम्मेदवार गोपाल हमालले ३ हजार २ सय ६१ मत ल्याएका छन् । तेश्रो स्थानमा रहेको नेकपा एमालेका उम्मेदवार दुर्गाप्रसाद जोशीले २ हजार ९ सय ६६ मत ल्याएका छन् ।
७ उपमहानगरको पछिल्लो मत परिणाम : ५ वटामा एमालेको अग्रता, धनगढीमा लफडा कायमै






