टिकट बेचेको आरोप लगाउँदै एमाले नेता फोरममा प्रवेश

वीरगंज – वीरगंज महानगरमा पार्टीले पैसा लिएर टिकट विक्रि गरेको आरोप लगाउँदै नेकपा एमाले पर्साका नेता सुन्दर कुर्मी संघीय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् ।

वीरगंजमा आज पत्रकार सम्मेलन गरी नेता कुर्मीले निर्वाचनमा पार्टीका कार्यकर्ताले भुमिका खोजीरहेको बेला लगानी, योगदान र निष्ठा भएका कार्यकर्तालाई पाखा लगाउँदै पैसाका लागि नेताहरुले पार्टी नै बेचेको घटना दुखद रहेको बताए । नेता कुर्मी नेकपा एमालेको तर्फबाट वीरगंज महानगरको लागि मेयरका आकांक्षी थिए ।

एमालेले नेशनल मेडिकल कलेज वीरंगंजका निर्देशक बसरुद्धिन अंसारीलाई पार्टीको टिकट दिएपछि उनि रुष्ट बनेका हुन् । कुर्मी समुहले अन्सारीले पार्टीका नेताहरुलाई मोटो रकम दिएर मेयरको टिकट हत्याएको आरोप लगाएका छन् ।

अन्सारी २०७० मा सम्पन्न संविधानसभा निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट पर्सा क्षेत्र नम्बर दुईका लागि संविधानसभा सदस्य पदमा पराजीत भएका थिए ।

पत्रकार सम्मेलनमा नेता कुर्मीले जीवनका उर्जावान तीन दशक नेकपा एमालेमा खर्चिएपनि पार्टीले त्यसको मुल्यांकन गर्न नसकेको र मधेशको अधिकार पनि एमालेले ग्यारेण्टी गर्न नसक्ने भन्दै एमाले परित्याग गर्दै फोरम प्रवेशको घोषणा गरेका हुन् ।

कार्यक्रममा फोरम नेपालका केन्दीय उपाध्यक्ष लालबाबु राउत गद्दिले एमालेले मधेशको सन्दर्भमा संवाद समितीमा जनाएका सम्पुर्ण प्रतिवद्धता लत्याएको आरोप लगाए ।