काठमाडौं– प्रदेश नम्बर १, ५ र ७ का ३ सय ३४ गाउँपालिका/नगरपालिकाको नेतृत्व चयनका लागि बुधबार बिहान ७ बजेदेखि मतदान सुरु भएको छ ।
सात सय ४४ स्थानीय तहमध्ये प्रदेश नम्बर ३, ४ र ६ का २ सय ८३ मा वैशाख ३१ गते निर्वाचन भइसकेको छ भने प्रदेश नम्बर २ का १ सय २७ स्थानीय तहमा तेस्रो चरणमा असोज २ गते मतदान हुने तोकिएको छ ।
तराईका जिल्लामा दिउँसो घाम चर्कने भएकाले बिहानै मतदाताको भीड लागेको छ ।
दोस्रो चरणमा तीन प्रदेशका ३५ जिल्लाका १ महानगरपालिका, ७ उपमहानगर, १ सय ११ नगरपालिका र २ सय १५ गाउँपालिकामा निर्वाचन हुन लागेको हो । ६४ लाख ३२ हजार ७ सय ६५ मतदाताका लागि ८ हजार ३ सय ६४ मतदान केन्द्र निर्धारण गरिएको छ ।
कुल १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदातामध्ये पहिलो चरणमा ४९ लाख ५६ हजार ९ सय २५ मतदाताले मत दिइसकेका छन् । पहिलो चरणको निर्वाचनमा ७३ प्रतिशत मतदान भएको थियो । दोस्रो चरणमा पनि आयोगको त्यस्तै अपेक्षा छ । मतदान कार्यमा सुरक्षाकर्मीबाहेक ६६ हजार ९ सय कर्मचारी परिचालन गरिएको आयोगले जनाएको छ ।
नगरपालिकाका प्रमुखरउपप्रमुख, गाउँपालिकामा अध्यक्ष/उपाध्यक्ष तथा वडामा एक वडाध्यक्ष र चार वडा सदस्यसहित प्रत्येक स्थानीय तहमा एक मतदाताले ७ पदमा मतदान गर्नेछन् । दोस्रो चरणमा १५ हजार ३८ पदका लागि ६२ हजार ४ सय ८ जना चुनावी प्रतिस्पर्धामा छन् ।






