काठमाडौं– काठमाडौं महानगरपालिकामा फोहोरबाट विद्युत उत्पादन गर्न थालिएको छ । मंगलबारदेखि काठमाडौंको टेकूस्थित फोहोरमैला व्यवस्थापन केन्द्रबाट दैनिक १४ किलोवाट विद्युत उत्पादन गर्न सुरु गरिएको हो ।
फोहोरमैला व्यवस्थापन केन्द्रमै बायोमेथानेशन प्लान्टको स्थापना गरी विद्युत उत्पादन, जैविक मल निर्माण र प्रशोधित पानी उत्पादनको कामलाई एकैसाथ सुरु गरिएको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले जानकारी दिए ।
युरोपियन युनियनको ८० प्रतिशत आर्थिक सहयोगमा निर्माण गरिएको सो प्लान्टको मंगलबार एक कार्यक्रमका बीच काठमाडौं महानगरपालिकाका मेयर शाक्य र नेपालका लागि युरोपियन युनियनका राजदुत रेन्सजे टीरिन्कले संयुक्त रुपमा उदघाटन गरेका हुन् । महानगरपालिकाको फोहोरमैला व्यवस्थापनको कामलाई दीगो रुपमा अघि बढाउन प्लान्ट सेवा संचालनमा आएको काठमाडौं महानगरपालिकाका मेयर शाक्यले बताए । उनले काठमाडौं महानगरपालिकालाई स्वच्छ र सुन्दर सहर बनाउने महानगरबासीको सपना छिट्टै पूरा गर्ने प्रतिवद्धता पनि दोहो-याए ।
एकीकृत फोहोरमैला व्यवस्थापन परियोजना अन्तरगत संचालनका आएको प्लान्टबाट दैनिक ३ सय किलोग्राम जैविक मल र ९६ किलोग्राम एलपी ग्याँस र ५ सय लिटर प्रशोधित पानी उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
यो परियोजनाको संचालनबाट वार्षिक सरदर २ हजार ५ सय टन बराबरको कार्वनडाईअक्साइड ग्याँस उत्सर्जनमा कमी आउने अपेक्षा पनि गरिएको छ ।
३ वर्ष लगाएर संचालनमा ल्याइएको प्लान्टले फोहोरबाट पनि आयआर्जन गर्न सकिन्छ भन्ने प्रमाणित भएको काठमाडौं महानगरपालिकाले जनाएको छ । उपत्यकाको फोहोरमैला व्यवस्थापनका लागि लगानी बोर्डले पनि निजी क्षेत्रको सहकार्यका ठूलो परियोजना संचालनमा ल्याउने तयारी गरिरहेको छ ।






