काठमाडौँ- नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले पहिलो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनमा पार्टीले सही उम्मेदवार छान्न नसक्दा पराजय भाग्नुपरेको बताउनुभएको छ ।
काँग्रेस तारकेश्वर गाउँपालिका नुवाकोट–काठमाडौँ सम्पर्क समितिको गठनका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले भन्नुभयो – “पार्टीले जनतामा भिजेको उम्मेदवार दिन नसक्दा स्थानीय तहको निर्वाचनमा हार व्यहोर्नुपरेको हो ।”
पूर्वमन्त्रीसमेत रहनुभएका नेता केसीले साङ्गठनिक रुपमा बलियो बनाउँदै विगतका कमी कमजोरीलाई आत्मसमीक्षा गरेर पार्टीलाई बलियो बनाउन सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
तारकेश्वर गाउँपालिका काँग्रेस पार्टी संयोजक होमबहादुर तामाङले तारकेश्वरको विकासका लागि पार्टीलाई सशक्त र चलायमान बनाउन खाँचो रहेको बताउनुभयो । सो कार्यक्रममा होमबहादुर तामाङको संयोजकत्वमा २० सदस्यीय सम्पर्क समिति गठनसमेत गरिएको छ ।






