काठमाडौं– राष्ट्रिय जनता पार्टी (राजपा) निर्वाचनमा आउने सुनिश्चितता भए चुनाव सार्न सकिने प्रस्ताव प्रधानमन्त्री शेरबहादुर देउवाको छ ।
सभामुख ओनसरी घर्तीको कार्यकक्ष सिंहदरबारमा मंगलबार बसेको प्रमुख दलका शीर्ष नेताको बैठकमा घर्तीले राजपाले लिखित प्रतिबद्धता जनाए पहिलो चरणमा १ र ७ नम्बर प्रदेशको मात्र चुनाव गर्न सकिने प्रस्ताव गरेका हुन् । स्रोतका अनुसार देउवाको प्रस्तावमा सत्तारुढ माओवादी र प्रमुख प्रतिपक्षी एमालेले अस्वीकार गरेका थिए ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले कुनै हालतमा निर्वाचन सार्न नहुने बताए । ‘उहाँहरुले चुनाव सारौं भन्न खोजेको तर भन्न नसक्ने जस्तो देखियो’, ओलीले भने, ‘सार्न खोजेको हो कि नगर्न खोजेको हो प्रष्ट भइएन ।’ उनले असार १४ मा घोषित दोश्रो चरणको निर्वाचन कुनै पनि बहानामा पछि सार्न नपाइने उनको भनाइ थियो ।
वैशाख ३१ मै हुनुपर्ने निर्वाचन पटकपटक सारेर १४ असारमा पुर्याइएको भन्दै ओलीले सरकार निर्वाचनप्रति गम्भीर नदेखिएको आरोप लगाए । बैठकमा प्रधानमन्त्री देउवाले निर्वाचन सारेर आयोग गठनमार्फत स्थानीय तहको संख्या बढाउन सकिने समेत प्रस्ताव राखेका थिए । सो प्रस्तावसमेत एमालेले ठाडै अस्वीकार गरेको छ ।
माओवादी केन्द्रका नेता वर्षमान पुनले सरकार १४ जेठमै निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए । यद्यपि प्रधानमन्त्रीले राजपाबाट लिखित प्रतिबद्धता आएको अवस्थामा सोच्न सकिने मात्र बताएको उल्लेख गरे ।






