गृहमन्त्रीलाई निर्वाचन आयोगको प्रश्न : तराई–मधेसको सुरक्षा कसरी हुदैछ ?

काठमाडौं– असार १४ गते हुने स्थानीय तहको निर्वाचनमा सरकारले गरेको सुरक्षा प्रवन्धबारे निर्वाचन आयोगले जानकरी लिएको छ ।

प्रदेश नं. १, २, ५ र ७ का स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सञ्चालन गर्न गृह मन्त्रालयको तयारीबारे गृह मन्त्री जनार्दन शर्मासँग आयोगका पदाधिकारीहरुले छलफलसहित जानकारी लिएको हो ।
मंगलबार आयोग परिसरमा भएको छलफलमा प्रमुख निर्वाचन आयुक्त डा.अयोधीप्रसाद यादवसहितका आयुक्तले गृहमन्त्री शर्मासँग विशेषगरी तराईृको सुरक्षा प्रवन्धबारे प्रश्न गरेका थिए ।

सो क्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधि प्रसाद यादवले निर्वाचनका लागि मनोनयन पत्र दर्ता गर्नेदेखि मतदाता शिक्षा, निर्वाचन प्रचारप्रसार, मतदान तथा मतगणना लगायतका सम्पूर्ण निर्वाचन कार्यक्रमहरू सञ्चालन गर्दा भरपर्दो सुरक्षा व्यवस्था बनाउन आवश्यक रहेको वताएका थिए ।
जवाफमा गृह मन्त्री शर्माले सरकारले राजनीतिक तहमा देखिएको समस्या समाधान गर्ने पहल गरिरहेको भन्दै निर्वाचनका लागि यथेष्ट सुरक्षा प्रवन्ध मिलाउन सरकार कटिवद्ध रहेको आयोगका प्रवक्ता सुर्य प्रसाद शर्माले जानकारी दिए ।
कार्यक्रममा आयोगका निर्वाचन आयुक्तहरू इला शर्मा, नरेन्द्र दाहाल, इश्वरी प्रसाद पौड्याल तथा सुधीर कुमार शाह, गृह सचिव लोकदर्शन रेग्मी, आयोगका सचिव गोपीनाथ मैनाली लगायतको उपस्थिति थियो ।