काठमाडौं- अछामको ढकारी गाउँपालिका–२, हिच्माका प्रकाश साउँद र कृष्ण साउँद एउटै घरका सहोदर दाजुभाइ हुन् ।
तर, राजनीतिक वैचारिक भिन्नताले दुई भाइबीच पानी बाराबार छ । कारण, प्रकाश कांग्रेसनिकट हुन भने कृष्ण एमाले समर्थक ।
यसले हाम्रो राजनीतिक संस्कार कस्तो छ भन्ने देखाउँछ ।
‘हाम्रो आस्था मिल्दैन,’ तरुण दलका जिल्ला अध्यक्षसमेत रहेका प्रकाशले भने, ‘राजनीतिक मञ्चमा जहिल्यै झगडा हुन्छ । निर्वाचनका बेला त दूरी नबढ्ने कुरै भएन ।’
गाउँमा हुने सभा सम्मेलन र सार्वजनिक समारोहमा पनि दुई भाइबीच नै बढी जुहारी चल्ने गरेको उनले बताए ।
ढकारी गाउँपालिका–६ ढुंगाचाल्नामा करिब पाँच सय घरधुरी छन् ।
यो वडामा अन्य पार्टीभन्दा कांग्रेस र एमाले समर्थकको संख्या बढी छ ।
पार्टी फरक परेकै कारण गाउँले विभाजित छन् । त्यहाँ पानी मधेरो, मेलापात र घाँस दाउरामा पनि राजनीति पसेको छ ।
कतिसम्म भने कांग्रेस–एमालेको हिँड्ने बाटोसमेत अलग छ । बजारबाट घर फर्किता एउटा बाटोमा कांग्रेस हिँड्छन् भने अर्को बाटोमा एमालेहरु मात्रै भेटिन्छन् ।
एउटै परिवारभित्र भोजभतेर र शोक पर्दा पनि फरक पार्टीमा आस्था राख्नेहरु सहभागी हुँदैनन् ।
यति मात्रै होइन, राजनीतिक प्रतिस्पर्धाकै कारण कतिपयले घरबारै तोड्नु परेको छ ।
श्रीमान कांग्रेस र आफू एमाले भएकै कारण तुर्माखाँद–१ का मनसरा बुढाले श्रीमानसँस सम्बन्ध विच्छेद गरेकी छन् ।






