काठमाडौं, २५ जेठ । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले दोस्रो चरणको निर्वाचनको देशव्यापी रुपमा उत्साह छाएकोले जुनसुकै पार्टीले बहिष्कार गरेपनि चुनाव नरोकिने स्पष्ट पारेका छन् ।
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै अध्यक्ष यादवले भने,‘अब चुनाव हुन्छ, हुन्छ कोही पार्टीले चुनावमा जान्न भन्दापनि अब चुनाव रोकिँदैन्, उपेन्द्र यादवको पार्टी चुनावमा नजाँदा पनि चुनाव हुन्छ, महन्थ ठाकुरको पार्टी चुनावमा नजाँदापनि चुनाव हुन्छ।’ यादवले आफ्नो पार्टीले देशव्यापी रुपमा चुनावी तयारी गरिसकेको समेत जानकारी दिए । उनले भने,‘हाम्रो पार्टीले दोस्रो चरणको निर्वाचनमा सबै ठाउँमा उम्मेद्धवारी दिन्छ, यसमा कुनै शंका छैन्।’ उनले जनताबाट आफ्नो पार्टीको पक्षमा देशव्यापी रुपमा उत्साह र समर्थन आईरहेको समेत जिकिर गरे ।
अध्यक्ष यादवले चुनावी तालमेलको लागि आफ्नो पार्टी खुल्ला रहेको समेत जानकारी दिए । उनले भने,‘हामी चुनावी तालमेलको लागि सबैसँग खुल्ला छौं, राजपा नेपाललाई पनि तालमेलको लागि अपिल गरिरहेका छौं, हामी सँगै लड्नको लागि तयार छौं।’ उनले प्रधानमन्त्री निर्वाचनमा कांग्रेस सभापति शेरबहादुरको देउवाको पक्षमा लर्को लागेर मतदान गर्न आउने मधेशी नेताहरु स्थानीय तहको निर्वाचनमा उठेका मधेशी नेताहरुलाई भोट गर्न किन नहुने भन्दै प्रश्न समेत तेर्साए ।
दोस्रो चरणको निर्वाचन अघि नै संविधान संशोधन प्रस्ताव पारित भए जनतामा अति नै उत्साह छाउने उनको विश्वास थियो । उनले भने,‘चुनाव अघि नै संशोधन प्रस्ताव पारित भए जनता रेनकोट ओढेर भएपनि मतदान गर्न आउँछन्, जनताले यतिवेला निर्वाचन र समृद्धि खोजेका छन्।’उनले जनताले खोजेको कुरा राज्यले समयमै पूरा गरिदिनुपर्ने बताए ।






