काठमाडौं– बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना यसपालिको दसैंमा पनि नआउने भएको छ । सुरुङ खन्ने रफ्तार घटेपछि १५ असोजभित्र उपत्यकामा खानेपानी ल्याउने सम्भावना घटेको छ ।
मेलम्ची खानेपानी आयोजनाका अनुसार अहिले ठेकेदार कम्पनीले दैनिक १७ मिटरका दरले सुरुङ खन्दै आएको छ ।
१५ असोजभित्र उपत्यकाभित्र खानेपानी ल्याउन दैनिक २८ मिटरका दरले सुरुङ खनिनुपर्ने थियो । २७।५८४ किमिमध्ये २४।३४९ किमि सुरुङ मात्र सकिएको छ । ३।१६६ किमि सुरुङ खन्न बाँकी छ ।
अहिले दुई प्याकेजमा चार स्थानबाट सुरुङ खन्ने काम हुँदै आएको छ । सुन्दरीजलदेखि सिन्धुसम्मको करिब १० किमि सुरुङ खन्ने काम सकिएको छ । अब सिन्धुदेखि ग्याल्थुमसम्मको सुरुङ खन्न बाँकी छ । खन्ने क्रममा चट्टान भेटिएको ठाउँ पनि यही हो ।






