सगरमाथा आधार शिविरमै मीनबहादुर शेरचनको निधन

लण्डन । सगरमाथा आधार शिविरमा शनिबार मीनबहादुर शेरचनको निधन भएको छ । । उनी सामान्य अवस्थामै आधार शिविरसम्म पुगेका थिए । क्याम्पमै बसिरहेका शेरचनको हृदयघातको कारण निधन भएको अुनमान गरिएको छ ।

उनी ‘समिट ट्रेक नेपाल’ नामक एक्सपिडिशन कम्पनी मार्फत आरोहणका लागि गएका थिए ।

पर्यटन विभागले समेत शेरचनको मृत्यु भएको पुष्टि गरेको छ । विभागका महानिर्देशक दिनेश भट्टराईले उनको शनिबार साँझ ५ बजेर १४ मिनेटमा निधन भएको जानकारी दिए । ८६ वर्षका शेरचन सबैभन्दा जेठो आरोहीको विश्व किर्तिमान राख्ने भन्दै आरोहणका लागि गएका थिए ।

उनको आरोहणका लागि ‘मीनबहादुर शेरचन सगरमाथा आरोहण’ अभियान नै चलाइएको थियो । ७६ वर्षको उमेरमा सगरमाथा आरोहण गरी किर्तिमानी राखेका शेरचनको किर्तिमानी सन् २०१३ मा ८१ वर्षीय जापानी आरोही युउचिरो मिउराले तोडेका थिए । यसअघि ज्येष्ठ नागरिक शैलेन्द्रकुमार उपाध्यायको पनि आरोहणको क्रममा निधन भएको थियो ।

म्याग्दीको भुरुवा तातोपानी स्थायी ठेगाना भएका शेरचन पूर्व गोर्खा सैनिक समेत हुन् । यो सिजनको सगरमाथा आरोही मध्ये शेरचन मृत्यु हुने दोश्रो आरोही हुन् ।